माघबाट उपत्यकामा विद्युतीय गाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहलमा सुन्दर यातायातले माघ महिनाबाट राजधानीमा विद्युतीय गाडी चलाउने भएको छ । २ महिनाभित्र ४५ सिट र ८५ यात्रु ओसारपसार क्षमता भएका विद्युतीय बस सञ्चालन गर्ने भएको हो ।  विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकारसँग लगानी साझेदारीका लागि सहमति भएको कामपाले जनाएको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले विद्युतीय यातायातका प्रतिनिधिसँग बिहीबार भेटका क्रममा सो सहमति भएको जानकारी दिँदै ३ वटा विद्युतीय बस सञ्चालन गर्न लागेको बताए । मेयर शाक्यले भने,‘हामीले काठमाडौंको सडक र बसको क्षमता जाँच गरिसकेका छौँ, काठमाडौंको सोह्रखुट्टे उकालोमा चढ्न सक्ने र अहिले बौद्ध क्षेत्रमा भएको खाल्डाखुल्डीमा गुड्न सक्ने बस ल्याउन लागेका हौँ ।’

यातायात प्रालिका कार्यकारी अध्यक्ष भेषबहादुर थापाले भने, ‘सरकारले विद्युतीय बस सेवा सञ्चालनलाई प्राथमिकतामा राखेपछि हामी यस काममा अग्रसर भएका हौँ ।’ महानगरपलिकासँग साझेदार बन्न चीनको बिवाइडी कम्पनीले इच्छा देखाएको छ । महानगरपालिका उक्त कम्पनीबाट उत्पादित बसको मूल्य, लगानी क्षमता, यसबाट हुने वातावरणीय तथा आवागमनमा पुग्ने लाभ, बस सञ्चालनका लागि पूर्वाधारका आधारमा सम्भावना अध्ययन गरिरहेको मेयर शाक्यले बताए ।

उक्त भेटमा सुन्दर यातायातलाई विद्युतीय सवारी उपलब्ध गराउने चीनको बिएक कम्पनीका प्रतिनिधिसमेत सहभागी भएको महानगरपालिकाले जनाएको छ । बिएमडी कम्पनीका विद्युतीय बस सस्तो र बलियो रहेको साथै यस कम्पनीले विश्वका विभिन्न सहरमा विद्युतीय बस पठाइरहेको र यस कम्पनीले बस पठाउने सहरको भूगोल र आवश्यकता अनुसारका बस तयार गरेर पठाउने गरेको बिएक कम्पनीका प्रमुख कार्यकारी च्यानलिन लुओले बताए ।

प्रतिक्रिया