राष्ट्रपतिको पोल्यान्ड भ्रमण स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले १७ मंसिर पोल्यान्डमा सम्बोधन गर्ने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलन उद्घाटन समारोह कार्यक्रमलाई स्वीकृत गरेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले गत सोमबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दैै पोल्याण्डको कातोबीच शहरमा मंसिर १७ र १८ मा हुने सो कार्यक्रमलाई स्वीकृत गरिएको जानकारी दिए ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणामा कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले मंसिर १३ र १४ गते नेपालको औपचारिक भ्रमण गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ । त्यसैगरी मन्त्रिपरिषद्ले नेपाल सरकार र कम्बोडिया सरकारबीच हुने हवाई सेवासम्बन्धी सम्झौतामा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री/सचिवलाई प्रारम्भिक हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

‘युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई डा अम्वेडकर इन्टरनेसनल अवार्ड २०१८ ग्रहण गर्नका लागि भारत जान स्वीकृति दिनाका साथै भरतपुर महानगरपालिका र बेसाइड काउन्सिल अस्ट्रेलियाबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिइएको छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

बैठकले नेपाल तथा भारत सरकारबीच सुरक्षासम्बन्धी विषयको नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको बैठक मंसिर २७ र २८ गते काठमाडौँमा गर्न स्वीकृति दिएको छ । सांसद सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीलाई प्रतिवेदन तयार गरी बुझाउन मङ्सिर २५ गतेसम्मको अवधि थप गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ, प्रचारप्रसार तथा सामारोह व्यवस्थापनलगायत काम गर्न आवश्यक पर्ने रु ६७ लाख २३ हजार ७५० अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै, सुनसरीको दुहवीमा अज्ञात व्यक्तिबाट गोली प्रहार भई मृत्यु भएका फिदा हुसेनको परिवार र कपिलवस्तुका राजबाबु भनिने दीपेन्द्र चौधरीको परिवारलाई राहतस्वरुप रु १०÷१० लाख उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले हुँदै नभएको झूटा समाचार प्रकाशन/प्रसारण गर्नुभन्दा पनि सत्यतथ्यमा आधारित भएर समाचार प्रकाशन÷प्रसारण गर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया