पाल्पाको रानीमहललाई ‘इकोपार्क’ बनाइने (

मान्छे आफ्नो प्रिय मान्छेका लागि जे पनि गर्न तयार हुन्छ भन्ने उदाहरण पाल्पाको कालीगण्डकी तीरमा रहेको रानीमहल हेरे पुग्छ । १९५४ मा बनेको यो दरबार वेलावेला गरिने मर्मतका कारण मात्र टिकेको छ । नयाँ पुस्तामा बढी आकर्षण रहेको उक्त रानी महललाई स्थानीय सरकारले ‘इकोपार्क’ बनाउने तयारी गरेको छ । नेपालको ताज महल भनेर चिनिने पाल्पाको उक्त रानीमहललाई अझ आकर्षक र राम्रो बनाउन लागिएको प्रदेश सरकारको भनाइ छ ।

तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तीरमा जग हालेर विशाल रानीमहल बनाएको इतिहासमा छ । धार्किक रूपमा पवित्र कालिगण्डकीको किनारमा रहेको विशाल पत्थरबाट ठड्याएर बनाइएको विशाल दरबार कुनै वेला खण्डहर जस्तै बनेको थियो ।

नामको रानी महल भए पनि अहिले यो दरबार कसैको सम्झनामा बनाइको रानी महल जस्तो लाग्दैन । उति वेलाको अवस्थामा निकै खर्चिएर बनाइएको यो दरबार लामो समय सरकारी चासोको विषय बनेन् । दरबारलाई राम्रोसँग मर्मत गरेर रंगरोगन गर्ने हो भने त्यसले पर्यटन भित्र्याउन मद्दत पुग्छ । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा छ । महलभित्र पानीपोखरी, मन्दिर, बगैँचा आदि रहेका छन् ।

५६ फिट चौडाइ, १ सय १२ फिट उचाइ भएको चारतले भवनको १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटी पौवासहित निर्माण कार्य पूरा भएको थियो । यस महल जीर्ण भएपछि ०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले २ करोड ७२ लाख ३७ हजार २ सय ४७ रुपैयाँ लागतमा रानीमहलको पुननिर्माण गरेको थियो ।

नेपालको ताज महलसमेत भनेर चिनिने रानीमहललाई अझ आकर्षक र राम्रो बनाउनका लागि ‘इकोपार्क’ निर्माण गर्न लागिएको छ । पुरातात्विक महत्वले भएको रानीमहलको स्वरूपलाई वातावरण मैत्री इकोपार्क बनाउन लागिएको हो । यसका लागि प्रदेश–५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले बताए । उनले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेर नै प्रदेश सरकारले चासो बढाएको बताए ।

यसै वर्षभित्र पार्कको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको पर्यटनमन्त्री गिरीले बताए । रानीमहललाई प्रदेश–५ कै प्रमुख पर्यटकीय स्थल बनाइने लक्ष्यअनुसार पहिलो चरणमा इकोपार्क बनाउन लागिएको उनको भनाइ छ । प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा पर्यटनलाई थप प्राथमिकता दिइने र रानीमहललाई लुम्बिनीपछिको आकर्षक पर्यटकीय गन्तव्य बनाउने तयारी रहेको मन्त्री गिरीले बताए ।

रानीमहल क्षेत्रको पर्यटकीय सम्भाव्यता र सडक पूर्वाधारबारे मन्त्री गिरीसहित भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी, प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन विकास समितिका सभापति दधिराम न्यौपाने एमएस, प्रदेश सांसद चेतनारायण आचार्य, सांसद नारायण आचार्य, सांसद वीरबहादुर राना, पाल्पा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याललगायत स्याङ्जाका प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूको टोलीले स्थलगत अवलोकन गर्दै सम्भावनाका बारेमा अध्ययनसमेत गरेको छ ।

दरबारमा रंगरोगन र मर्मत गरेर मात्रै हुँदैन, यहाँसम्म पुग्ने सडकलाई विस्तार र व्यवस्थित गर्न पनि आवश्यक छ । यसलाई महसुस गर्दै प्रदेश सरकारका प्रवक्ता चौधरीले सडककै अभावमा पर्यटकीय गन्तव्य ओझेल परेको बताए ।

पाल्पा सदरमुकाम तानसेनबाट करिब १४ किलोमिटरको दूरीमा रहेको यस महलसम्म पुग्ने अधिकांश सडक भने कच्ची छ । सदरमुकामबाट महल पुग्ने सडकमध्ये ५ किलोमिटर कालोपत्रे भएको छ भने बाँकी बाँकी कालीगण्डकी कोरिडोरतर्फ ७ सय मिटर दूरीको चट्टानले रानीमहल पुग्ने बाटोमा अवरोध गरेको छ । यसैगरी, रानीमहललाई स्याङ्जासँग जोड्ने पक्की पुलको पाल्पातर्फको काम पनि पूरा भएको छैन । चट्टानलाई फुटाएर बाटो खुलेपछि र पुल निर्माण सकेपछि रानीमहलमा पर्यटक आगमनले फड्को मार्ने प्रदेश सरकारको दाबी छ ।

पछिल्लो पुनर्निर्माणपछि अहिले रानीमहल आकर्षक भएको छ । साविकको बौघागुम्बा गाविस–२ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि उभिएको छ । रानीमहल दरबारको बायाँतर्फ शित्तलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुंगाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्कििलोको बायाँतर्फ एउटै किसिमको शिव र गंगाका दुई मन्दिर छन् ।
यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको थियो । वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ । दरबारको मूलढोकाबाट कुँदिएका ढुंगा र इँट्टाबाट बनाइएका खुड्कििला तल सिधा कालीगण्डकी नदी कुण्डसम्म जोडिएका छन् । प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तीर्थालुहरूलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएको छ ।

पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम करिब तीन घण्टा पैदल यात्राबाट रानीमहल पुग्न सकिन्छ । १९६० मा खड्ग शमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफ्नो हातमा लिएका थिए ।

खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमूल्य वस्तु छाडेर तीनवटा साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतीक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको बताइन्छ । दिवंगत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ । पछिल्ला केही वर्ष यता यहाँ आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण बढेको छ ।

प्रतिक्रिया