मेगा बैंकको प्रादेशिक कार्यालय शिलान्यास

काठमाडौं । मेगा बैंकले प्रादेशिक कार्यालयका लागि बुटवलमा अत्याधुनिक भवनको शिलान्यास गरेको छ । प्रदेश–५ को प्रादेशिक कार्यालयका लागि बुटवलको मिलनचोकमा आफ्नै जमिनमा अत्याधुनिक भवनको शिलान्यास गरिएको छ । बुधबार एक समारोहका बीच बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले संयुक्त रूपमा भवनको शिलान्यास गरे ।

मेगा बैंकका १ सय २ वटा शाखा, १८ वटा एक्टेनशन काउन्टर, १ सय १९ वटा शाखारहित बैंकिङ केन्द्रहरू, २ हजार ३ सयभन्दा बढी मेगा रेमिट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेका छन् । बैंकको पञ्चबर्षीय रणनीतिक कार्ययोजना अनुसार सातै प्रदेशमा प्रदेश कार्यालय स्थापना गरेर बैंकिङ पहुँच बृद्धि गरी रोजगारमूलक एवं उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्दै बढोत्तरी गर्ने लक्ष्य रहेको अध्यक्ष शाहको भनाइ रहेको छ ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारी नारालाई साकार पार्न कृषि, पर्यटन, भौतिक पूर्वाधार, जलविद्युत्, शिक्षा, स्वास्थ्य क्षेत्रका उद्यमी व्यावसायीसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै सहकार्यका लागि आह्वान गरे । मेगा बैंकले यसअघि नै बुटवलमा प्रादेशिक कार्यालय स्थापना गरी कारोबारलाई केन्द्रित गरिरहेको छ ।

आगामी ११ महिनाभित्र अत्याधुनिक भवन निर्माण गरी आफ्नै कार्यालयबाट सेवा प्रदान गर्ने योजना गरेको प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले बताइन् । मेगा बैंकको कारोबार उत्साहजनक देखिएको बताउँदै सिइओ खुञ्जेलीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४० करोड ४५ लाख रूपैँया खुद मुनाफा गर्न सफल भएको जानकारी दिइन् ।

बैंकको कुल निक्षेप अघिल्लो बर्षको तुलनामा २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ आश्विन मसान्तमा ६६ अर्ब ११ करोड रूपैँया पुगेको छ जुन ६६ प्रतिशतको वृद्धि छ । त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम रहेको छ ।

प्रतिक्रिया