उपाधि फेरि एपिएफकै पोल्टामा

काठमाडौं । निकै प्रतिस्पर्धात्मक फाइनलमा विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै साबिक विजेता एपिएफले प्रधानसेनापति कपको उपाधि जितेको छ । निर्धा्रित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा कुनै गोल हुन सकेन ।

एपीएफले पहिलो हाफमा अनिता बस्नेतको गोलमा अग्रता लिएको थियो । उनले सरु लिम्बूको पासमा ४१ औं मिनेटमा सुरुवाती गोल गरेकी थिइन् । पहिलो हाफमा एपीएफले पोस्टमा लगातार आक्रमण गरेपनि आर्मीकी गोलरक्षक अन्जना रानामगर बाधक बनिन् ।

दोस्रो हाफमा एपिएफले पहिलो हाफको प्रदर्शनलाई निरन्तरता दिन सकेन । आर्मी काउन्टर अट्याकमा विमला चौधरीको गोलसँगै खेलमा फर्कियो । उनले ६१ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट सहजै गोल गरिन् । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि २० मिनेट समय थपिएको थियो ।

अतिरिक्त समयको दोस्रो हाफको सातौं मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारमा गोलरक्षक बिट भए पनि पुनम जर्घा मगरले गोललाइनबाट क्लियर गर्दै खेल बराबरीमा कायम राखिन् । एपिएफका लागि सावित्रा भण्डारी, रेनुका नगरकोटे, अनिता बस्नेत र अनु लामा प्रहार गोल भएको थियो । गीता रानाको प्रहार बाहिरियो । आर्मीका लागि अन्जना रानामगर र निशा बोहोराले गोल गर्दा कप्तान कृष्णा खत्री र इन्दिरा राई चुके ।

प्रतिक्रिया