ठकुरीसहित तीन स्रष्टा सम्मानित

काठमाडौं । नेपाली साहित्यमा योगदान दिएका चारजना स्रष्टालाई सम्मान गरिने भएको छ । सुरभि साहित्य प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदान गरिदै आएको सुरभी आख्यान पुरस्कारको पाउने स्रष्टामा कथाकार माया ठकुरी, कथाकार सनत रेग्मी, साहित्यकार डा. कपिल लामिछाने र भूधरा उपाध्याय रहेका छन् ।

कथाका क्षेत्रमा लामो समयदेखि योगदान दिएकी कथाकार माया ठकुरीलाई ‘सुरभि आख्यान पुरस्कार’ प्रदान गरिने भएको छ । त्यस्तै, आख्यानका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका स्रष्टा सनत रेग्मीलाई ‘सुरभि बाजुराम आख्यान साधना पुरस्कार’ प्रदान गरिदै छ ।

वर्षभरीका आख्यान लेखनबाट उत्कृष्ट स्रष्टालाई प्रदान गरिँदै आएको सुलेख साहित्यिक प्रतिभा पुरस्कारबाट डा. लामिछाने र सुरभि प्रह्लाद नारी आख्यान पुरस्कारबाट उपाध्यायलाई पुरस्कृत गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

साहित्यकार विजय चालिसेको अध्यक्षतामा समालोचक युवराज मैनाली र साहित्यकार वेदमणि घिमिरे भएको निर्णायक समितिले पुरस्कृत व्यक्तित्व छनोट गरेको हो । पुरस्कार आगामी माघ महिनामा प्रतिष्ठान स्थापना दिवसमा प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया