सुर्खेतबाटै श्रम स्वीकृति

सुर्खेत । वैदेशिक रोजगारमा जानेहरूका लागि काठमाडौंबाट मात्रै हुने श्रम स्वीकृति अब प्रदेशमा पनि पुग्न थालेका छन् । कर्णाली प्रदेशमा पहिलो पटक सुर्खेतबाट श्रम स्वीकृति दिन थालिएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नै बुधबारबाट वैदेशिक रोजगारमा जाने कामदारले श्रम स्वीकृति लिन पाउने भएका छन् । बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यलयको औपचारिक रूपमा खुलेपछि यहीबाट पाउने व्यवस्था शुरु भएको हो । कार्यालयबाट श्रम, रोजगारी, सामाजिक सुरक्षासँग जोडिका विषयमा काम गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए ।

‘अब यहाँका नागरिक श्रम स्वीकृति लिनका लागि काठमाडौं जानु पर्दैन । हामीले श्रम, रोजगार र सामाजिक सुरक्षासम्बन्धी कामहरू यहीबाट गर्छाैं’, उनले भने, ‘कर्णाली प्रदेशमा धेरै सम्भावना रहेको छ । जडिबुटीको खानी छ । यहाँ हामीले धेरैलाई रोजगारी सिर्जना गर्न सक्छौँ ।’

कार्यालयको उद्घाटन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सबै श्रमिकहरूको जीवन सुरक्षाका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको बताए । श्रमिकहरूका हरेक समस्या समाधान गर्न सरकारले कार्यक्रम शुभारम्भ गरेको उनको भनाइ छ ।

बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यालयको उद्घाटन गर्दै मन्त्री विष्ट नेपाली श्रमिकहरूले हालसम्म कहाली लाग्दो अवस्था भोगेको भन्दै औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रमा काम गर्ने र आफ्नो पौरखले बाच्ने श्रमिकहरूको सुरक्षा सरकारले गर्ने बताए ।

आगामी वर्ष नेपालमा लाखौं युवाहरूलाई रोजगार दिने गरी सरकारले गृहकार्य अघि बढाएको भन्दै उनले ज्यानको जोखिम मोलेर विदेशमा युवाहरू काम गर्न जाने दिनको अन्त्य गर्न सरकार कटिबद्ध रहेको जिकिर गरे । श्रमिक बिरामी हुँदा दुर्घटना वृद्ध अवस्थामा सामाजिक सुरक्षामा आधारभूत श्रमजीवि जनाताहरूले न्याय प्राप्त गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको उनको भनाइ थियो ।

मन्त्री विष्टले स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना हुने बेरोजगारहरूको सूची संकलन गर्ने, तोकिएको मापदण्डमा रोजगार प्राप्त गर्न नसक्नेहरूका लागि सरकारले निर्वाहभत्ता दिने र देशभित्रै रोजगार दिने र देशभित्रै कामको सम्मान गर्ने वातावरण सिर्जना गर्ने बताए ।

यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियाले संघीय सरकारले सामाजिक सुरक्षा अभियान शुभारम्भ मात्र गरेको र त्यसको प्राण भर्न प्रदेश सरकार तयार रहेको बताए । सामाजिक सुरक्षा कार्यक्रमलाई कार्यान्वयन गर्न प्रदेश सरकार कटिबद्ध भएर लाग्ने उनको भनाइ छ ।

श्रम स्वीकृतिका लागि टोकन प्रणाली

वैदेशिक रोजगार कार्यालय ताहाचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली सुरु गर्ने भएको छ । मंसिर १६ गतेदेखि टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण गरिने कार्यालयका प्रमुख युवराज खतिवडाले जानकारी दिए ।

रोजगार कार्यालयमा व्यवस्थित प्रणाली नहुँदा विदेश जाने युवाले निकै सास्ती खेप्दै आएका छन् । श्रम स्वीकृति लिनकै लागि अघिल्लो दिनदेखि लाइनमा बस्नुपर्ने बाध्यता छ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधरमा तोकिएको मिति र समयमा मात्र सेवा प्राप्त गर्न सकिने उनले बताए । दैनिक ९०० लाई टोकन वितरण गर्ने गरी सफ्टवेयरको विकास गरिएको छ ।

प्रमुख खतिवडाले टोकन प्राप्त गर्ने युवालाई सोही दिन सेवा प्रदान गरिने बताए । उनले सफ्टवेयरले दिएको मिति र समयभित्रै सेवा लिन कार्यालयमा आउनसमेत आग्रह गरे । प्रमुख खतिवडाले भने, ‘सेवाग्राहीले टोकन लिएको दिनमै सेवा लिन आउनुभयो भने सोही दिन हामी ९०० लाई नै सेवा प्रदान गर्न सक्छौँ । यसबाट सेवाग्राही भोक, निन्द्रा नभनी लाइनमा बस्न आउनु पर्दैन । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन सक्छौँ ।’

कार्यालयबाट सरकारले रोजगारीका लागि खुला गरेका ११० मुलुकका लागि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति प्रदान हुँदै आएको छ । अहिले दैनिक एक हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति लिने गरेका कार्यालयले जनाएको छ ।

कार्यालयले बिहान ८ देखि साँझ ७ बजेसम्म सेवा प्रदान गर्दै आएको छ । शनिबारका दिनसमेत श्रम स्वीकृति प्रदान गरिँदै आइएको प्रमुख खतिवडाले जानकारी दिए । चाडपर्व सकिएसँगै वैदेशिक रोजगारीका क्रममा विदेशिने युवाको चाप ह्वात्तै बढेको छ ।

प्रतिक्रिया