खोजखबर

न परेर सोच्दै छ सरकार, न पढेर

सन्दर्भः दार्चुला र डडेलधुरा बस दुर्घटना

वीरेन्द्र रावल २०७५ मंसिर १२ गते ८:५९ मा प्रकाशित

उहिलेका बुढापाकाहरूले अर्ती दिने गर्दथे, बाबु हो कित पढेर जान्नु पर्छ, कि परेर । लाग्दथ्यो परेर भनेको के होला ? बुढापाकाहरू न त स्कुल जान्थे न त पढेलेखेकै हुन्थे । गाउँघरमा कचहरी हुँदा पढेलेखेका युवाहरूसमेत बुढापाकाले गर्ने बयान र इन्साफका अगाडि नतमष्तक भएर सुन्ने गरेको दृष्य देख्न अनि अनुभूति सबैले गरेकै हुन् । ताक परे अझै पनि बुढापाकाहरूको त्यो रन्की, फन्की, राप र ताप अझै कतिपय ग्रामीण बस्तीमा देख्न र सुन्न पाइन्छ । यस्ता कथन नेपालमा मात्र नभएर विश्वका विकसित देशहरूमा पनि व्यावहारिक रूपमा देख्न र सुन्न पाइन्छ ।

सन्दर्भः नेपालमा धेरै छन्, विभिन्न घटनाक्रमलाई केलाएर हेर्ने हो भने यस्ता कथनले न त स्थान पाएका छन् न त प्रयोगमै आइरहेका छन् । नेपालमा के शिक्षा, के स्वास्थ्य र के यातायात जुनसुकै क्षेत्रमा गएर पनि हेर्ने हो भने पनि बढो कहालीलाग्दो अवस्था छ । जसका कारण सारा नेपाली जनताले पूर्व जन्मको पापको प्रायश्चित गर्नु परेझैँ दिनहुँ विभिन्न क्षेत्रबाट सास्ती, पीडा र असुविधा भोग्नुपर्ने चरम नियति नै बनिसकेको छ ।

वास्तवमै भन्ने हो भने नेपाल सरकार सारा नेपाली जनताको अभिभावक नै हो । जनताका सुख, दुःख र पीडामा साथ दिने र अभिभावकत्व प्रदान गर्ने अहम् जिम्मेवारी नेपाल सरकारको नै हो । तर, नेपाली जनतामा न त अभिभावक भएको अनुभूति भइरहेको छ, न त अभिभावकको निगरानीमा सन्तान रहेझैँ भइरहेको छ सरकारका लागि । दिनहुँ कतै सवारी दुर्घटना, कतै हड्ताल त कतै बलात्कार, कतै नारा जुलुस नभएको दिन नै छैन । देख्ने पनि निरीह, हेर्ने झनै मुक दर्शक, गर्ने गराउने झनै छाडा अवस्थामा रहँदा देशमा बेथितिको अवस्था सिर्जना भइरहेको छ ।

नेपाली जनताले एकपछि अर्को सुख होइन दुःख घटनाको सिकार बन्नु परिरहेको छ । नेपालमा पछिल्लो समयमा राज्यको टाउको दुखाइ बनेको छ, सवारी दुर्घटना । कसैको आफन्त घरबाट कतै निस्कियो भरे सकुसल घर फिर्ता हुन्छ या हुँदैन भन्ने चिन्ता र आशंका आमनेपालीमा पर्न थालेको धेरै भइसकेको छ ।

यस्ता समस्याको रोकथाम न त राज्यबाट हुन सक्यो नत निजी क्षेत्रबाट नै । नेपालमा समय समयमा कहाली लाग्दा सवारी दुर्घटनाहरू हुन थालेका छन् । विगत लामो समयदेखि नेपाली जनताले विभिन्न कारणले सवारी दुर्घटनामा परी आफ्ना आफन्त गुमाइ सकेका छन् ।

विगतमा पहाडी क्षेत्रमा महिला तथा पुरुषहरूको अकालमै मृत्यु कित भिर पाखामा दाउँरा घाँस गर्न जाँदा लडेर हुन्थ्यो भने कि त मलेरिया, औलो, झाडापखाला, सर्पको टोकाइ वा यस्तै, यस्तै दैविक प्रकोप आदि इत्यादिबाट । तर, आज भिरपाखामा मानिसहरूको मृत्यु नभइ सडक र सवारी साधन नै ठूला काल बनेर आइ लाग्न थालेका छन् ।

नेपाल एक भूपरिवेष्टित मुलुक हो । अधिकांश क्षेत्रपहाडी भएका कारण पनि नेपालमा निर्माण भएका सडकहरू कित दारे भिरबाट निकालिएका छन्, कि त नदी किनार भएर । तराई क्षेत्र खासगरी पूर्व–पश्चिम राजमार्गअन्तगर्तका सडकहरू आवश्यकता अनुसार फराकिला नभएका कारण पनि द्रुत गतिमा रहेका सवारी साधनहरू एकआपसमा ठोक्किनेदेखि सडकमा यात्रा गर्ने पैदल यात्रीहरूसमेत निकै असुरक्षित हुने गरेका थुप्रै उदाहरणहरू छन् ।

पूर्व–पश्चिम राजमार्गसमेत दुई लेन हुनु र बाक्लो सवारी साधन गुड्ने गरेका कारण पनि सवारी दुर्घटनाहरू एकपछि अर्को गरी हुनेगरेका छन् । नेपालको सन्दर्भमा सवारी दुर्घटना नियति नै बनिसकेको छ । एकैछिनमा सकुसल देखिएको मानिस भरेभोलि फेसबुकको वालमा उसैको बारेमा हार्दिक श्रद्धाञ्जली लेखिएको देखिनु सामान्य जस्तै भएको छ ।

अहिले मान्छे मर्न कडा रोग लाग्नुपर्दैन । मान्छेका लागि सवारी साधन नै काल बन्ने गरेको छ । एक दुई जनाको पनि होइन । एकै घरका सबै परिवार वा गाउँ घरका साथीसंगी समेतको एकै चिहान बन्ने गरेको छ । यो नेपाली जनताले नियति झैँ भोग्नु परिरहेको छ ।

यसै महिना पाँच गते बिहीबार साँझ ५ बजे केआई सिंह राजमार्गअन्तर्गत पर्ने डडेलधुराको जिल्लाको रडुवा खोला नजिक स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २५ जना घाइते भए । घाइतेमध्ये ७ जनाको अवस्था अझै गम्भीर छ । त्यसैगरी, मालिकार्जुन गाउँपालिका–३ स्थित मालिकार्जुन मन्दिरको जात्राबाट फर्कंदै गरेको बस मालिकार्जुन–३ तेर्छालेक नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।

शुक्रबार बिहान पौने ५ बजेतिर म१ख ४३६ नम्बरको मिनिबस सडकबाट एक सय मिटर तल खसेको थियो । दुर्घटनामा उद्धार गरिएका १८ घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पतालतर्फ पठाइएको थियो । सडक तलको भिर अप्ठ्यारो भएकाले उद्धारमा ढिलाइ र असहज भएको उद्वारमा संलग्न प्रहरी, सेना र स्थानीयले बताए ।

यी दुवै दुर्घटनामा धार्मिक मेलाबाट फर्किएकाहरू परेका यात्रु थिए । यसलाई संयोग या नियति जेभन्दा पनि हुन्छ । यी दुई घटना पछिल्ला उदाहरण मात्र हुन् । नेपालको मेचीदेखि महाकालीसम्मको सडक दुर्घटनाको तथ्य र तथ्यांकलाई हेर्र्ने हो भने अब नेपालमा मृत्युदर वृद्वि रोग व्याधीले नभई सडक दुर्घटनाले बढ्दोक्रममा छ भन्नेमा अत्युक्ति नहोला । दिन प्रतिदिन बढ्दै गइरहेका सवारी दुर्घटनाका कारण सारा नेपाली जनतामा आतंक सिर्जना भइरहेको छ । ठुल्ठूला नेता हुन् या मन्त्री जो कोही किन नहून् नेपालका अवैज्ञानिक सडक जो आफैले बनाए त्यसैको सिकार बन्नुपर्ने अवस्था विद्यमान छ ।

आफूले बनाएको खाल्डोमा आफैँ परेझैँ भएका छन्, नेपालका सडक सञ्जालहरूको यात्राको अवस्था । न आकाश सुरक्षित छ न त सडक यात्रा नै त्यसकारण नेपालमा सवारी दुर्घटनाको कहालीलाग्दो अवस्था रोकथाम गर्ने दिशामा राज्यले जुन भूमिका निर्वाह गर्नुपर्ने हो त्यो गर्न नसकेका कारण पनि आज मानिसहरूले अकालमै ज्यान गुमाउनु परिरहेको अवस्था छ ।

सडक दुर्घटनाको मुख्य कारण के होला ? किन बढ्दै छ सवारी दुर्घटना ? सवारी दुर्घटना कसरी रोक्न सकिन्छ ? जस्ता जिज्ञासा आमनेपाली, वौद्धिक जगत्, राज्य, नेपाल प्रहरी र सरोकारवाला निकायलाई जानकारी भएकै छ कि यी नै बुँदाहरू सबैको मुख्य चासो बनेको छ ।

खासगरी, यस्ता समस्या हुनुमा उछिन्न खोज्नु, क्षमताभन्दा बढी यात्रु वा समान बोक्नु, एउटै चालकले बढी समयसम्म सवारी चलाउनु, चालकले मदिरा सेवन गर्नु वा यात्रु स्वयंको असावधानी पनि सवारी दुर्घटनाका मुख्य कारणहरू हुन् भन्ने तथ्य प्रमाणित भइसकेको छ । त्यसमध्ये। नेपालमा बनेका र बनिरहेका मापदण्ड विपरीतका ज्यानमारा सडकहरू पनि एक कारणको रूपमा हेरिएको छ ।

नेपालमा विद्यमान ट्राफिक नियमको सही कार्यान्वयन हुन नसक्नु र सवारीसाधनको अवस्था चेकजाँच गर्नेदेखि लिएर सडकको अवस्थालाई सुधार गर्दै लैजाने सवालमा राज्यले ध्यान दिन नसक्नु पनि हो ।

कुनै पनि दुर्घटनापछि सरकारका उच्च ओहोदाका मानिस वा कुनै राजनीतिक दलका मानिस परेमा झण्डा ओढाउन र श्रद्धान्जली दिनेको ताँती लाग्दछ । यो नेपालका नेता वा सरकारको नियति नै हो । क्षति हुनुभन्दा पहिले सावधानी अपनाउन नसक्दा जनताले ठूलो क्षति भोग्नुपर्दा जिम्मेवार निकायले वेलामा सोच्न नपर्ने घटना भएर मान्छेले ज्यान गुमाएपछि समवेदनाको नाटक गरिन्छ, यसको कुनै अर्थ रहँदैन ।

नेता वा राजनीतिक दलका व्यक्तिको पहलमा जवर्जस्ती कुलो खने झैँ गाउँमा सडक पु¥याएर फूलका माला पहिरने लोभका कारण पनि जनताले विलाप खेप्नुपरिरहेको छ, नेपालमा । ज्यानमारा अवैज्ञानिक रूपले बनाइएका सडकहरू उद्घाटन गर्न जाँदा हाइलुक्स र स्कोरपिओ गाडी लिएर गएका नेताहरू कसरी गाउँ पुगे भन्ने कुरा जनतालाई ज्ञात हुँदैन ।

जब सार्वजनिक अनि थोत्रा सवारीमा ठेलमठेल गरेर जब मानिसहरू गाउँ पुग्ने रहर गर्दछन् तब उनीहरूले ठूलो दुर्घटनाको सिकार बन्नुपरेको छ । त्यसकारण ज्यानमारा सडक सञ्जाललाई तोडेर वैज्ञानिक अनि फराकिला सडक निर्माणमा सरकारको उचित ध्यान जान जरुरी छ ।

यस्तै, जनतामा सडक दुर्घटना र त्यसबाट बच्ने उपायका बारेमा पटकपटक गाउँ, टोल र जिल्लास्तरमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा ल्याउन जरुरी छ । यसका साथसाथै प्रत्येक सडकमा ट्राफिक व्यवस्थापन गर्ने र अनुगमन गर्न आवश्यक छ ।

माथिका दुइवटै सवारी दुर्घटनामा पहिलो कारण क्षमताभन्दा बढी मान्छे भएको ट्राफिक प्रहरीको अनुमान छ । डडेलधुरका रडुवा खोलामा भएको से१प २९३ नम्बरको पिसजोन इंग्लिस बोर्डिङको बसमा बढी यात्रु भएको खुलेको छ । २८ सिट क्षमता भएको बसमा ४३ जनाले सवार गरेका थिए । उक्त बसमा क्षमताभन्दा १५ जना बढी यात्रु थिए । यस्तै, मोडमा स्टेयरिङ फेल भएर दुर्घटना हुन गएको प्रहरीको अनुमान छ ।

यसैगरी, दार्चुलामा भएको सवारी दुर्घटनामा पनि मिनिबसमा क्षमताभन्दा बढी यात्रु भएको कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको विभिन्न समयमा थुप्रै सडक दुर्घटनाहरू हेरिरहेको छ । यहाँका मुख्यमन्त्रीसँग त्यसबारेमा न जवाफ छ, न प्रदेश सरकारका मन्त्रीहरूसँग । दुर्घटना हुन्छ घाइतेको उपचार खर्च एकपटकका लागि दिइएला तर ज्यान गुमाएका, आहत भएका जनता र अंगभंग भएकाको पीडामा कुनै मल्हम पट्टी गर्नसकेको छैन प्रदेश सरकारले ।

सडक सञ्जाल विस्तार गर्ने होडलाई होस्टेमा हैँसे थप्ने सिवाय अरू काम छैन प्रदेश सरकारको । पुरानै बाटाहरूलाई निरन्तरता दिइरहेको छ । न त सडकमा सुधार छ न त नियतिमा त्यसकारण प्रदेश सरकारले सडकसम्बन्धी बलियो भरपर्दो योजना बनाएरअघि बढ्न जरुरी छ ।

दार्चुला र डडेलधुरामा मात्र होइन देशका अधिकांश पहाडी भागमा हुने सवारी दुर्घटनामा मृत्यु हुने र भएकाहरूले समयमा उपचार पाउनु र समयमा उद्धार हुन नसक्नु र सुविधा सम्पन्न अस्पतालको उचित व्यवस्था हुन नसकेका कारण पनि दुर्घटनामा परेका मानिसहरूको बाँच्ने सम्भावना निकै कम हुने गर्दछ । त्यसका लागि सरकारले घाइतेलाई समयमा नै उपचारका लागि अस्पताल पु¥याउन हेलिकोप्टरको आपतकालीन व्यवस्था मिलाउन जरुरी छ ।

यसैगरी, दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागू गरेर मात्रै हुँदैन हरेक ३० किलोमिटर वा त्योभन्दा कम दूरीमा सुरक्षा जाँच र स्वास्थ्यकर्मीसहितको स्वास्थ्य बिटको व्यवस्था गर्न सकेको खण्डमा उपचारका लागि र उद्वारका लागि सहज हुनसक्छ ।

राज्यले यस विषयमा गम्भीर भएर सोच्न जरुरी छ । नेपालमा बढ्दो सवारी दुर्घटनालाई कम गर्न र जनतालाई सुविधा र राहत पु¥याउने हो भने संघ र प्रदेश सरकारले स्थानीय निकायसँग समन्वय गरी तत्कालै नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ । यसमा विलम्ब गर्नु हुँदैन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय