चलेन ‘ठग्स अफ हिन्दोस्तान’

एजेन्सी, मुम्बई । बलिउड अभिनेता अभिताभ बच्चन र आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ खासै जम्न सकेन । चलचित्र हेरेपछि दर्शकले दिएको प्रतिक्रियापछि अभिनेता आमिरले पश्चाताप गरेका छन् । उनले भने, ‘मैले यस चलचित्रबाट दर्शकको अपेक्षा पूरा गर्न सकिनँ । यसको पूरा जिम्मेवारी म लिन्छु । मलाई लाग्छ कि हामीबाट गल्ती भयो । हामीले प्रयास पूरा गर्यौँ तर हामी कहीँ न कहीँ चुक्यौँ ।’

उनले यसलाई मनपराउने दर्शन निकै कम रहेको प्रतिक्रिया दिएका छन् । आमिरले भने, ‘जो मेरा लागि चलचित्र हेर्न आएका थिए, म उनीहरूसँग माफी माग्छु कि मैले उनीहरूलाई सोचेजस्तो मनोरञ्जन दिन सकिनँ । मैले पूरा कोसिस गरेको त थिएँ ।’

दर्शकको अपेक्षालाई पूरा नसकेकोमा आफूलाई दुःख लागेको उनले दुखेसो गरेका छन् । उनले भने, ‘मलाई आफ्नो चलचित्र मेरो सन्तान बराबरको लाग्छ ।’ ‘ठग्स अफ हिन्दोस्तान’ डिसेम्बरमा चीनमा रिलिज हुँदै छ । निर्माताले यसका लागि तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि आमिरको चलचित्र ‘दंगल’ को चीनमा प्रदर्शनपछि आमिरको फ्यान फलोवर्स बढेका थिए । अमिताभ र आमिरजस्ता स्टारले अभिनय गरेको यस चलचित्रले मुस्किलले १ सय ५० करोड पार गरेको जनाइएको छ । तैपनि यसले प्रदर्शनको पहिलो दिनै ५० करोड कमाएको थियो । त्यसपश्चात् यस चलचित्रको कमाइमा विस्तारै कमी आएको भारतीय अखबारले उल्लेख गरेका छन् ।

प्रतिक्रिया