‘लिम्बू भाषा’ सरकारी कामकाजमा

इलाम । बिहीबारदेखि इलामको माङसेबुङ गाउँपालिकामा ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाको रूपमा प्रयोगमा आउने भएको छ । माङसेबुङ गाउँपालिका–५ ले सरकारी कामकाजी भाषाको रूपमा देशमै पहिलोपटक ‘लिम्बू भाषा’ लाई कार्यान्वयन प्रारम्भ गर्ने वडाध्यक्ष नरेन्द्र राईले जानकारी दिए ।

लिम्बू बाहुल्यताका आधारमा वडामा कामकाजी भाषाको रुपमा ‘लिम्बू भाषा’ को कार्यान्वयन सुभारम्भ गर्ने सम्पूर्ण तयारी पूरा भएको वडा अध्यक्ष राईले जानकारी दिए । कार्यान्वयनको औपचारिक घोषणा प्रदेश–१ का सांसद धीरेन्द्र शर्मा (रमण) बाट गरिने तयार भएको वडा कार्यालयले जनाएको छ ।

‘यसअघि गरेको निर्णअनुसार बिहीबारदेखि औपचारिक रुपमा ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी गरेका छौँ’, वडाध्यक्ष राईले, ‘यो कामले सिंगो गाउँपालिका र प्रदेशलाई नै कामजकाजी भाषाको रूपमा बाहुल्यताका आधारमा स्थानीय भाषा प्रयोग गर्न दबाब मिल्नेछ ।’

लिम्बू समुदायको बाहुल्यता रहेको त्यस वडामा स्थानीय भाषाको सम्मान गर्दै लिम्बू भाषालाई समेत सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको वडाअध्यक्ष राईको भनाई छ । वडामा दोभासे कर्मचारी नभएपनि ‘लिम्बू भाषा’ र ‘किरात सिरजंगा लिपि’ को आधार क्षेत्र भएकाले माङसेबुङबाटै सरकारी कामकाजमा ‘लिम्बू भाषा’ प्रयोग गर्ने तयारी गरिएको उनले बताए ।

सो वडाको गत १५ कात्तिकमा बसेको बैठकले नेपालमै पहिलो पटक ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी र संघसंस्थाहरुको संयुक्त बैठकले सो निर्णय गरेर तयारी सुरु गरेको थियो ।

हालसम्म वडा र गाउँपालिकामा कोही पनि बहुभाषिक कर्मचारी नियुक्त भएका छैनन् । तर स्थानीय भाषा कामकाजी भाषाको रुपमा प्रयोग हुन थालेपछि गाउँपालिकासँग दोभाषे कर्मचारी नियुक्त गर्न माग गर्ने उनले बताए ।

‘हामीसँग अहिले दोभाषे कर्मचारी छैनन् । कर्मचारी नियुक्तिका लागि गाउँपालिकासँग माग गर्नेछौं’ अध्यक्ष राईले भने, ‘तत्काल लिम्बू भाषा जानकार स्थानीय पाँच जना स्वयम्सेवकबाट सहयोग लिनेछौं । त्यसका लागि स्वयम्सेवक समिति समेत गठन गरेका छौं ।’ समितिले गाउँपालिकाबाट दोभासे कर्मचारी नियुक्त नभएसम्म स्वयंसेवकको भूमिका निर्वाह गर्नेछ ।

प्रतिक्रिया