हराएको दश वर्षपछि मुत्युको खबर

बागलुङ । रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो । कतैबाट श्रीमान् टुप्लुक्क आइ पुग्छन् कि ? करीब दश वर्षदेखि बाटो कुरेर बसिरहेकी श्रीमती रत्नासँग न अब आशा नै बाँकी रह्यो, न श्रीमान् ।

रोजगारीमा दिल्ली पुग्नुअघि विसं २०६६ असार २२ गते भैरहवाबाट श्रीमान् जीतबहादुरले गरेको टेलिफोन कुराकानी नै उनको लागि अन्तिम आवाज बन्न पुग्यो । चाँडै फर्कने वाचा गर्दै निस्किएका बस्नेत अब कहिल्यै घर फर्किने छैनन् । बुबाको साथ र स्नेहसाथ बाँच्ने छोरी चीना र छोरा रामको सपना चकनाचुर बनेको छ । रोगले थालिएका ९१ वर्षीय बुबा कर्णबहादुरमाथि अर्को चोट थपिएको छ । गलकोट नगरपालिका–१० मल्मस्थित परिवार र आफन्तजन शोकमा डुबेका छन् ।

दश वर्षदेखि हराएका बस्नेतको मृत्युको खबरले सिङ्गो गाउँसमेत चिन्तित बनेको छ । दिल्लीसम्मै पुगेर खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारजन थकित र निराश थिए । एकाएक दिल्लीस्थित नेपाली दूतावासबाट मुत्युको खबर आएपछि आश्चर्यमा परिएको दाइ गिनबहादुरले बताए ।

दूतावासले गत कात्तिक १६ गते २ नोभेम्बर) मा ५० वर्षीय जीतबहादुरको मृत्यु भएको जानकारीसहित शव बुझ्नको लागि परिवारलाई खबर गरिदिन जिल्ला प्रशासन कार्यालय बागलुङलाई पत्र पठाएपछि घटना बाहिर आएको हो । दूतावासले संलग्न गरी पठाएको दिल्ली प्रहरी पुलिस स्टेशन लोधी क्लोनी को पत्रमा सन् २००९ जुलाई ९ तारिख मा दुर्घटनामा परी बस्नेत घाइते भएको उल्लेख छ ।

गम्भीर घाइते बस्नेतलाई तत्काल उद्धार गरी उपचार र हेरचाहको लागि ‘शान्ति निकेतन’ नामक पुनःस्थापना केन्द्रमा पठाइएको प्रहरीको पत्रमा उल्लेख छ । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि केन्द्रमै बस्नेतको निधन भएको जनाइएको छ । गत कात्तिक १६ मै दिल्लीस्थित ‘एम्स’ अस्पतालमा ल्याइएका बस्नेतलाई चिकित्सकले आधिकारिक रुपमा मृत घोषणा गरेका थिए ।

प्रहरीले बस्नेतको शव एम्स अस्पतालको शवगृहमा राखिएको र शव बुझ्न परिवारलाई खबर गरी दिन अनुरोध गर्दै यही मङ्सिर ३ गते नेपाली दूतावासमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले परिवारलाई खबर गरी शव बुझ्न मृतक बस्नेतका भाइ भारतीय सेनामा कार्यरत अमर बस्नेतलाई अधिकारप्राप्त व्यक्ति तोकेर पत्र पठाएको थियो ।

दिल्लीमै रहेका बस्नेतले आइतबार पत्र बुझी सोमबार दिल्लीस्थित नेपाली दूतावास पुगेका थिए । दूतावासले शव बुझ्नको लागि आधिकारिक व्यक्ति प्रमाणित गरेर प्रहरीलाई पत्र लेखेको उनको भनाइ छ । भाइ अमर बस्नेतले प्रहरी कार्यालय र पुनःस्थापना केन्द्रमा समेत पुगेर घटनाबारे जानकारी लिएका थिए ।

“मुद्दा हेरिरहेका प्रहरी अधिकृत बिदामा भएकाले आजलाई बोलाएको छ”, उनले भने । मृत्युको घटना हेरिरहेको प्रहरी अधिकृत नभएपछि सोमबार शव बुझ्न नसकिएको उनको भनाइ छ । पुनःस्थापना केन्द्रका सञ्चालकले प्रहरीको सहायतामा उद्धार गरिएको जनाएका छन् ।

केन्द्र सञ्चालकका अनुसार बस्नेतलाई सरकारी गाडीले ठक्कर दिएर घाइते बनाएको थियो । “अदालतमा मुद्दा चलेको छ भन्ने पनि थाहा भयो”, बस्नेतले भने, “घटनाबारे यथार्थ खुल्न बाँकी छ, हामी सोधखोज गर्दैछौँ ।

परिवार र आफन्तजनले मृत्युको घटनाप्रति आशङ्का व्यक्त गरेका छन् । मृत्युको खबर आउने तर दुर्घटना हुँदा, यतिका वर्ष पुनःस्थापना केन्द्रमा बस्दा किन खबर आएन भन्ने प्रश्न गरेका छन् । परिवारले बस्नेत हराउने बित्तिकै दिल्ली पुगेर दरिया गञ्जको प्रहरी कार्यालयमा खोजतलास गरिदिन निवेदन दिएका थिए ।

हप्तौँसम्म बसेर दिल्लीमा खोजी गर्दा पनि बस्नेतको अवस्था थाहा हुन सकेको थिएन । दिल्लीबाट आफन्त भेट्न गुडगाउँ पुगेका बस्नेत फर्कदा बाटोबाटै सम्पर्कविहीन भएको दिल्लीमै रहेका खड्क साहानीले बताए । “दश वर्षपछि एकैचोटी मृत्युको खबर आयो”, उनले भने , “यत्रो घटना कसरी लुक्यो ।

प्रहरीका अनुसार बस्नेत सन् २००९ को जुलाईमा दिल्लीको सफदरजङ्ग विमानस्थल नजिक दुर्घटनामा परेका थिए । बस्नेत दुर्घटनामा पर्नुअघि १५ वर्षसम्म दिल्लीमै बसेर काम गरेका थिए । यतिका वर्षपछि भाइ नरहेको खबर आयो”, दाइ गिनबहादुरले भने, “दुःखीसँगै हामी आश्चर्यमा परेका छौँ, यस्तो कसरी भयो । बस्नेत सकुशल घर फर्कन्छन् वा राम्रो खबर आउँछ कि भन्ने आशामा परिवारका सदस्य थिए । संयुक्त परिवारबाट छुट्टिएर अलग बस्दै आएकी रत्नालाई श्रीमान्को मृत्युले झन पीडा थपेको छ ।

छोरी चिनाको बिहे भइसकेको छ भने छोरा राम पोखरामा पढ्दै छन् । पैसा कमाउन विदेशीएक श्रीमान्को उतै निधन भएपछि उनको जीवनमा ठूलो विपद् आइलागेको छ ।

प्रतिक्रिया