‘उद्वेग’ मार्फत खबरदारी

चितवन । राजनीतिक बेथिति, सामाजिक एवं सांस्कृतिक विकृति, विसंगतिका विरुद्ध तेजविलास अधिकारीद्वारा लेखिएको हाइकु संग्रह ‘उद्वेग’ बजारमा आएको छ ।

 

इच्छाकामना–३ चुम्लिङटारमा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणप्रसाद अधिकारी, कवि तथा इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष कृष्णप्रसाद पोखरेल, शिक्षाविद् एकराज शर्मा, वडा ३ का अध्यक्ष गोवद्र्धन अधिकारी, राजनीति व्यक्तित्व माधव खनाल, प्रताप गुरुङ र रेवतीराम पोखरेलले उक्त संग्रहको संयुक्तरूपमा विमोचन गरे ।

कृतिमाथि टिप्पणी गर्दै एकराज शर्माले नेपाली समकालीन हाइकुमा अधिकारीले लेखेको हाइकु निकै उत्कृष्ट रहेको जिकिर गरे । उनले भने, ‘नेपाली समाजको यथार्थ चित्रण गरिएको संग्रहमा सान्दर्भिक हाइकुलाई समेटिएको छ ।’

शर्माले हाइकुमार्फत हाइकुकारले नेपाली समाजको उत्खनन् गरेको धारणा व्यक्त गरे । सुजन सापकोटाले तेजविलासले हाइकुमार्फत नेपाली राजीतिक, सामाजिक विकृति र विसंगतिमाथि व्यंग्य प्रहार गर्दै सुधारको सन्देशसमेत दिएको बताए ।

उनले भने, ‘नेपाली साहित्यमा तेजविलासले सशक्त उपस्थिति जनाउने गरी कृति निकालेको देखिन्छ ।’ हाइकुकार तेजविलासले समाजका सकारात्मक र नकारात्मक विषयलाई हाइकु लेखेको बताए । उनले नेपाली समाजमा मौलाउँदै गएको फरक संस्कृतिले निम्ताएको नकारात्मक परिवेशलाई कृतिमा उठान गरेको भनाइ राखे । उनले भने, ‘हाइकुमार्फत सामाजिक, सांस्कृतिक तथा राजनीतिक परिवेश र त्यसले निर्माण गर्न खोजेको परिवेशलाई कृतिमा उतारेको छु ।’

प्रतिक्रिया