तेक्वान्दोको दुवै संघ विघटनको तयारी

काठमाडौँ । लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी शुरु गरेको छ । परिषद्ले अस्तित्वमा रहेका नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो संघ (नेपाल)को विघटन प्रक्रिया अगाडि बढाएको हो । खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म दुई सङ्घबीच विवाद आएपछि सङ्घलाई कात्तिक २७ गते परिषद्ले विवाद सल्टाउन सातदिने पत्र काटेको थियो ।

पत्रमा राखेपले समान हैसियत र अस्तित्वमा रहेका दुवै सङ्घलाई मिलेर जान अल्टिमेटम दिएको उल्लेख छ । राखेपले दुवै सङ्घलाई लेखेको पत्रमा दुवै सङ्घ मिल्न नसकेको अवस्थामा माघमा आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूदको जिल्ला, प्रदेश र केन्द्रीय छनोट प्रभावित हुने उल्लेख छ ।

आठौँ राष्ट्रिय खेलकूद आगामी माघ २२ गतेदेखि आयोजना हुने तय भएको छ । राखेपको ११०औँ बोर्ड बैठकले दुई तेक्वान्दो संघलाई आपसी छलफल गरी विवाद समाधान गराउन निर्णय भएको र सो निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको थियो । अहिले विश्व तेक्वान्दो महासंघले सम्बन्धन दिएको प्रकाश शम्शेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघ र शिव कोइराला नेतृत्वको नेपाल तेक्वान्दो युनियन अस्तित्वमा छन् । दुवै संघ अहिलेसम्म सकारात्मक नदेखिँदा तेक्वान्दोको विवाद सधैँका लागि समाप्त पार्न विघटन नै गर्नुपर्ने अवस्था आएको परिषद स्रोतले जनाएको छ ।

परिषदका सदस्य सचिव केशवकुमार विष्टले दुवै संघका पदाधिकारीलाई आपसी छलफलबाट समस्या समाधान गर्न आग्रह गर्दै भने, “उनीहरुबीच जुँगाको लडाइँ चलिरहँदा परिषद् चुप लागेर बस्दैन । हामी कठोर निर्णय लिन बाध्य हुन्छौँ । अझै पनि दुई संघका पदाधिकारीबीच छलफल होस् भन्ने चाहन्छौँ । सहमतीका लागि दुई महीना समय दिन सकिने उनको भनाइ थियो । “त्यसपछि पनि उनीहरुले केही निकास दिएनन भने हामी दुवै संघ विघटन गछौँ, परिषद्लाई विघटनको अधिकार छ,” राखेप सदस्य सचिव विष्टले भने ।

कोइराला अध्यक्ष रहेको संघले विवाद सल्टाउन पाँच सदस्यीय वार्ता टोली गठन गर्दा राणा पक्षले भने परिषदको पत्रका सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन । नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले राजनीतिक भ्रातृसंस्थासँग एकता नहुने बताए । “विसं २०३८ देखि खेल र खेलाडीको विकासमा लागेको हामीलाई राजनीतिकरुपमा अर्को संस्था जन्माइ विवादमा ल्याउन खोजियो, विघटन गरे अदालत जान्छौँ”, उनले भने । राखेपको पत्रपछि दुई चरणमा युनियनसँग वार्ता गरे पनि समाधान ननिस्केको उनको भनाइ छ ।

नेपाल तेक्वान्दो युनियनका अध्यक्ष कोइरालाले दुई संघ हुुनु कुनै नौलो कुरा नभएको बताए । संघको एकाधिकार तोड्न आफूहरूले युनियनलाई अस्तित्वमा ल्याएको उनले बताए । “राखेपले पत्र पठाएको छ, राखेपकै पत्रको सम्मान गर्दै हामीले मेरै नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेका छौँ, राखेपको निर्देशन स्वीकार्नु विकल्प छैन”, उनले भने । एशियाली खेलकूद प्रतियोगितामा ऐतिहासिक पहिलो रजत, दक्षिण एशियाली खेलकूदमा सर्वाधिक स्वर्ण जित्ने तथा छनोट चरण पार गरी ओलम्पिक खेलमा सहभागिता जनाउने खेल तेक्वान्दो हो । पछिल्लो समय दुई समानान्तर संघ रहँदा यो विवादित बनिरहेको छ ।

प्रतिक्रिया