स्वदेश फर्किएका युवा तरकारी खेतीमा आकर्षित

भोजपुर । भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरूको लगाव देखिएको छ । यस्तो पेसामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू रहेका छन् । उनीहरू यसैबाट राम्रो आम्दानीसँगै अन्य व्यक्तिका लागि उदाहरणीय पात्रसमेत बनेका छन् । व्यावसायिक तरकारी खेतीमा लागेर भोजपुर नगरपालिका–७ का जितकुमार राईले निकै राम्रो आम्दानी गरिरहेका छन् । वैदेशिक रोजगारीका लागि साढे पाँच वर्ष कतारमा बिताएका राई अहिले आफ्नै ठाउँमा व्यवसायमा गरेर उदाहरणीय पात्रसमेत बनेका छन् ।

कतारमा कडा परिश्रम गरेर पनि राम्रो आम्दानी गर्न नसकेको बताउने राईले अहिले भने तरकारीखेतीबाट वार्षिक ६ देखि सात लाखसम्म आम्दानी लिने गरेको बताउँछन् । राईले भने, ‘कतारको तातो घाममा करिब ५ वर्ष बिताएँ तर खासै कमाउन सकिनँ, अहिले यही तरकारीखेतीमा लागेर वार्षिक ७ लाखसम्म आम्दानी गरिहेको छु ।’ राईले आफ्नो पाँच रोपनी क्षेत्रफलमा तरकारीखेती गरिरहेका छन् । उनले मौसमअनुसार काउली, बन्दा, गोलभेँडा, खुर्सानी, साग, सिमीलगायतको खेती गरिरहेका छन् ।

बजारको राम्रो व्यवस्था नहुँदा भने बिक्री वितरणमा समस्या हुने गरेको उनको दुःखेसो छ । राईले भने, ‘बजारको राम्रो व्यवस्था नुहँदा भने निकै समस्या छ, हाम्रो बजारको माग करिब २ सय किलो छ, मैले बढी उत्पादन गर्दा बिक्री वितरणमा भने समस्या हुन्छ, बजारको व्यवस्थामा सरकारले ध्यान दिए मजस्ता कृषकलाई सहज हुने थियो ।’ जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारीमा गएर आएपछि धेरै युवाले यस्तो खालको पेसा अँगाल्ने गरेका छन् र उनीहरूले राम्रै आम्दानी पनि गरिरहेका छन् । तर, प्राविधिक ज्ञान, राम्रो बिउविजन नपाउँदा भने निकै समस्या हुने गरेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया