‘योजनाका रकममा र्याल नचुहाइयोस’

सल्यान । योजना सञ्चालन गर्दा विनियोजन भएको रकममा ¥याल नचुहाउन कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गरेका छन् ।

आइतबारदेखि सुरु भएको योजना सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले योजनामा ¥याल चुहाउने बानीले गाउँको विकास कहिल्यै पनि नहुने बताएका हुन् ।

वडा नम्बर ३ मा गठन भएका योजनाका मुख्य पदाधिकारिहरूलाई कपुरकोटमा निर्देशन दिँदै अध्यक्ष सेनले भने, ‘तपाईंको गाउँठाउँको विकासका लागि उपभोक्ताको पनि लगानी हुनुपर्छ । योजनामा कुनै तलमाथि नहोस्, काम प्रभावकारी भएन भने रकम भुक्तानी पनि हुँदैन र बेइमानी गर्नेलाई कारबाहीसमेत हुन्छ ।’

योजना सञ्चालनको क्रममा गाउँपालिकाका कुनै पनि कर्मचारीले रकम मागेमा वा रकम भुक्तानीमा ढिलासुस्ती गरेमा आपूmलाई जानकारी गराउन सेनले आग्रह गरे । योजना सम्पन्न भएपछि त्यसको संरक्षण, उपयोगमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक तिला बुढा मगरले गएका वर्ष धेरै योजनाहरू सन्तोषजनक तरिकाले सम्पन्न नभएको जनाउँदै यो वर्ष त्यसो नहुने बताइन् । उनले भनिन्, ‘म सबै योजनाको अनुगमनमा आउनेछु । अनुगमनमा जे देखिन्छ त्यही रिपोर्ट गाउँपालिकासमक्ष गर्नेछु । त्यसैले इमानदारीका साथ गुणस्तरीय काम गर्नुहोला ।’

वडा नम्बर ३ का वडाध्यक्ष मीनबहादुर सेनको अध्यक्षतामा अभिमुखीकरण गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, सूचना अधिकारी जीवराज केसीले उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, सम्झौता गर्दा आवश्यक पर्ने कागजात लगायतका विषयमा अभिमुखीकरण गरेका थिए ।

चालु आर्थिक वर्षमा कपुरकोट–३ मा १४ वटा योजना सञ्चालनमा रहेको वडाध्यक्ष मीनबहादुर सेनले जनाए । गाउँपालिकाका अन्यवडामा पनि उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सुनायो प्रगति र आगामी नीति कपुरकोट गाउँपालिका सल्यानले पत्रकारहरूसँग साक्षात्कार कार्यक्रम गरेर उपलव्धी र आगामी नीतिहरू प्रस्तुत गरेको छ । कपुरकोटमा शनिबार साक्षात्कार कार्यक्रम गरेर गाउँपालिकाले पूर्ण खोपयुक्त गाउँपालिका घोषणादेखि ३१ वटा ऐन, नियम, कार्यविधि निर्माण भएको प्रगति प्रस्तुत गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले गएको आर्थिक वर्षमा गाउँपालिकाको भवन निर्माण कार्य अघि बढाइएको, ६ वटै वडाबाट स्वास्थ्य सेवा प्रवाह, यातायात गुरु योजना निर्माण, १० हजार वृक्षरोपण भएको जानकारी गराए । करिब १ सय ६६ किलोमिटर नयाँ मोटरबाटो निर्माण भएको जनाउँदै उनले यसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना, सडकको स्तरोन्नति र कृषि उपजको बजारसम्म सहज पहुँच भएको जनाए ।

सूचना अधिकारी जीवराज केसीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले कपुरकोटको विकासमा रचनात्मक सल्लाह, सुझाव र साथ दिन पत्रकारहरूलाई आग्रह गरे । गाउँपालिकाभित्रका कुनै पनि योजना सञ्चालन गर्दा उपभोक्ता समिति गठनदेखि योजना सम्पन्न गर्दासम्म जनसहभागिता, अनुगमन र पारदर्शितालाई विशेष जोड दिइएको बताए ।

बालविवाह न्यूनीकरण, मदिरा, जुवातासजस्ता विकृती रोक्नका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको जनाउँदै अध्यक्ष सेनले यसवर्ष २ सय ३२ वटा योजना सञ्चालनमा रहेको बताए । कार्यक्रममा उपाध्यक्ष तिला बुढा मगरले महिला सशक्तीकरणका लागि चेलिबेटीसँग उपाध्यक्ष लगायतका कार्यक्रम यसवर्ष सञ्चालन गरिने जनाइन् ।

उनले पत्रकारहरूलाई आफूहरूले गरेका राम्रो कामको प्रचार गरेर र कमजोरीहरू औँल्याइदिएर परिपक्व हुने अवसर प्रदान गर्न आग्रह पनि गरिन् । गत वर्षको प्रगति तथा आगामी नीतिहरूका बारे पत्रकारसँग साक्षात्कार कार्यक्रममा उनीहरूले गाउँपालिकालाई विभिन्न सल्लाह, सुझाव दिँदै जनप्रतिनिधिहरूसँग विभिन्न जिज्ञासाको जवाफसमेत मागेका थिए ।

प्रतिक्रिया