२ हजार ५ सयमा वर्षभरि उपचार

बाँके । बर्सेनी २ हजार पाँच सय बराबरको स्वास्थ्य बिमा गराएर वर्षभरि ५० हजार बराबरको औषधी उपचार गराउन सकिने ब्यवस्था अब हरेक स्थानीय तहमा लागू हुने भएको छ ।

नेपाल सरकार, स्वास्थ्य बिमा बोर्डले सञ्चालन गरेको योगदानमा आधारित कल्याणकारी स्वास्थ्य बिमा गराउँदा २ हजार पाँच सयमा ५ जना परिवारसम्म वर्षभरि औषधी उपचार गराउन पाइने डुडुवा गाउँपालिकामा शनिबार आयोजित एक कार्यक्रममा बताइएको छ ।

बाँकेको ७ वटा स्थानीय तहमा स्वास्थ्यकर्मी, विभिन्न राजनैतिक दल, सरोकारवाला निकाय र नागरिक अगुवाहरूलाई स्वास्थ्य बिमा सम्बन्धी अभिमुखीकरण गरेर शनिबार डुडुवा गाउँपालिकामा पनि सो अभिमुखीकरण आयोजना गरिएको थियो ।

बाँकेको सबै स्थानीय तहका स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरि सँयोजन समितिसमेत गठन भई सकेकोले यसै फाल्गुन,चैत्र देखिनै बिमा रकम बाटै नागरिकहरूले उपचार गराउन पाउने नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड ५ नम्बर प्रदेश सँयोजक मनोज पौडेलले बताए ।

नेपाल सरकारको नीति अनुरूप डुडुवा गाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको पौडेलको भनाईरहेको थियो । ४६औं जिल्लाका रूपमा मंसिर १ गतेबाट स्वास्थ्य बिमा लागू भएपछि नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड ५ नं प्रदेश बुटवलले बाँकेको ८ वटै स्थानीय तहमा स्वास्थ्य बिमाका बारेमा प्रशिक्षण तथा स्थानीय तहमा समिति गठन गर्न सुरु गरिएको संयोजक पौडेलले बताए ।

यसैबीच डुडुवा गाउँपालिका मा पनि स्वास्थ्य सुरक्षा संयोजन समिति गठन गरिएको छ । डुडुवा गाउँपालिकाका प्रमुख नरेन्द्र कुमार चौधरी संयोजक रहेको समितिमा, सदस्यहरूमा उपप्रमुख सायदा बानो खाँ, स्वास्थ्य संयोजक धनबहादुर बुढा, शिक्षा साखाको संयोजक राम ईकबाल मण्डल र सदस्य सचिवमा बोर्डको तर्फबाट दर्ता अधिकृत रहने गरी स्थानीयतह स्वास्थ्य सुरक्षा संयोजन समिति गठन गरिएको छ ।

समितिले डुडुवा गाउँ पालिकाका सबै वडामा वडा अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समितिसमेत गठन गर्ने निर्णय गरेको छ । बाँके जिल्लाका सबै स्थानीय तहमा समिति गठन, प्रशिक्षणको काम र दर्ता सहयोगी गठन गर्दा समय लाग्ने भएकोले फागुनबाट स्वास्थ्य बिमा पूर्णरूपमा लागू हुने स्वास्थ्य बिमा बोर्डका ६ नम्बर प्रदेश संयोजक मनोज पौडेलले जानकारी दिए ।

प्रशिक्षणको काम सम्पन्न भइसकेपछि प्रत्येक वडामा दर्ता सहयोगी चयन हुनेछन् र उनै दर्ता सहयोगीले घर घरमा गएर स्वास्थ्य बिमाको काम अगाडि बढ्ने अभिमुखीकरणका सहजकर्तासमेत रहेका स्वास्थ्य बिमा बोर्डका कर्णाली प्रदेश सँयोजक अर्जुन पण्डितले जानकारी दिए ।

डुडुवा गाउँपालिकाका स्वास्थ्य साखा सँयोजक धन बहादुर बुढाले स्वास्थ्य बिमा कार्यक्रम जनताका लागि अति उपयोगी भएकोले बिमा कार्यक्रम सफल पार्न स्थानीय तहले नागरिकहरूलाई सहयोग गरी बिमा गराउँदा उपयुक्त हुने बताए ।

प्रतिक्रिया