शान्तिको सन्देश ल्याउन अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं । प्रत्येक मानिसको भावनात्मक संवेगलाई शान्तिमा ल्याउने प्रयासमा सबै लाग्नुपर्ने सहभागीले जोड दिएका छन् ।

ललितपुरमा क्रोधरहित संसार र ग्लोबल पिसले आयोजना गरेको विश्वशान्तिका लागि व्यक्तिको व्यवहार र भावनात्मक परिवर्तन गर्दै मानव संशाधनको विकास गर्नका लागि भएको ‘आठौँ अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागीले विश्वमा शान्ति कायम गर्नका लागि प्रत्येक मानिसको भावनात्मक संवेगलाई शान्तिमा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

सम्मेलनमा भारतस्थित प्यासिफिक एकेडमी अफ हाइएर एजुकेसन एन्ड रिसर्च विश्वविद्यालय उदाइपुरका व्यवस्थापन सकायका डिन प्राडा. महिमा विर्लाले प्रत्येक मानिसको व्यवहारमा शान्ति भए मात्र विश्वमा शान्ति कायम गर्न सकिने बताइन् । उनले मानिसलाई शान्ति कायम गर्नका लागि संवेगनात्मक शिक्षा आवश्यक भएको समेत बताइन् ।

कार्यक्रममा मलेसिया विश्वविद्यालयकी शिक्षा संकायको प्रोजेक्ट डाइरेक्टर प्राडा. साध सिराज व्यक्तिगत रूपमा भित्रैबाट मानिसको आत्ममा शान्ति भए मात्र विश्वशान्ति हुने बताइन् । कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका पूर्व–उपकुलपति प्राडा. तुलसीराम वैद्यले मानिसमा भएको व्यवहार र आत्मालाई नियन्त्रणमा राख्दै विश्वभर नै मानिसलाई शान्ति ल्याउन सकिने बताए ।

सम्मेलनमा नेपालसहित विश्वका भारत, अमेरिका, मलेसिया, इथोपिया, अस्ट्रेलिया, बेलायत, अस्ट्रिया थाइल्यान्ड र इजिप्ट देशबाट मनोवैज्ञानिकहरूको विश्वमा शान्ति कायम गर्नका लागि व्यक्तिमा कसरी शान्ति ल्याउने भन्नेबारे अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया