एनजिओको कार्यक्रममा सरकार सहआयोजक बन्न मिल्छ ? कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले गैरसरकारी संस्थाको कार्यक्रममा सरकार र संसद् नै सहआयोजक बसेको भन्दै कडा आपत्ति जनाएको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइक्यापको आयोजनामा मंसिर १५ र १६ गते काठमाडौंमा हुने ‘एसिया प्यासिफिक समिट–२०१८’ प्रति लक्षित गर्दै कांग्रेसले सरकारको जवाफ माग गरेको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी कञ्चनपुरमा भेटिनुपर्ने सरकार आइएनजिओको कार्यक्रममा भेटिएको टिप्पणी गरे । प्रवक्ता शर्माले भने, ‘सुन्नमा आएको छ आइक्याप भन्ने अन्तर्राष्ट्रिय संस्थाले धर्म प्रचार गर्छ भन्ने छ ।

धर्म निरपेक्ष राज्य नेपालमा कुनै एक धर्मको प्रचार गर्न संविधानले पनि दिँदैन यस्तो अवस्थामा सरकार चाँहि एनजिओको पछि लागेर सहआयोजक बन्दै हिँडिरहेको रहेछ ।’ उनले यसविषयमा सरकारले स्पष्ट धारणा ल्याउनुपर्ने मागसमेत गरेका छन् ।

‘विश्वका धेरै देशको उदाहरण लिन सक्छौँ । जहाँ पनि एनजिओ, आइएनजिओ देशको मातहतमा हुन्छ । तर, अहिले वर्तमान सरकार त आइएनजिओको मातहतमा रहेर कार्यक्रम सञ्चालन गर्न थालेको छ,’ प्रवक्ता शर्माले भने, ‘मैले पहिले पनि सोधेको थिएँ सरकार कहाँ छ भनेर, सरकार त सहआयोजक बन्न कार्यक्रम आयोजना गर्ने आइएनजिओको खोजीमा पो रहेछ ।’ उनले सरकारका यस्ता गतिविधि खेदजनक रहेको पनि बताए ।

प्रतिक्रिया