‘विप्लव’ माओवादीद्वारा शक्ति प्रदर्शन

काठमाडौं । अर्धभूमिगत जस्तै भएर राजनीतिक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । पार्टी पुनर्गठनको पाँचाैँ वर्षगाँठको अवसरमा शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमै सभा गर्दै शक्ति प्रदर्शन गरेको हो ।

सभालाई सम्बोधन गर्न चन्द नै आउने बताइए पनि उनी सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा उपस्थित भएनन् । सभालाई सम्बोधन गरेका अन्य नेताले भने सत्तारूढ दलको आलोचना गरेका थिए ।

उनीहरूले यो राज्य व्यवस्थाबाट देश समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै जनसत्ताको आवश्यकता रहेको औँल्याउँदै निर्णायक जनक्रान्ति गर्ने घोषणा गरेका छन् । यद्यपि उनीहरूले पार्टीको कार्यगत नीति के हो भनेर चाहिँ प्रस्टसँग भन्न सकेनन् । कार्यगत नीति भन्न नसके पनि क्रान्ति अपरिहार्यताबारे प्रस्ट पार्न कोसिस गरे ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले वर्तमान सरकार शेरबहादुर देउवा नेतृत्वको सरकारभन्दा पनि बढी निर्मम रूपले आफूमाथि खनिएको आरोप लगाए ।

‘ओली सरकार हाम्रोे पार्टीमाथि अघोषित प्रतिबन्ध लगाएर दमनमा उत्रिएको छ । हामी गलत हो वा सरकार, यसको जवाफ जनताले दिनेछन् । यो सरकारले यस्तै रूपमा हामीमाथि दमन गरिरहे चाँडै जनताको अदालतमा उभिनुपर्ने दिन आउनेछ ।’ उनले अगाडि भने, ‘हाम्रो पार्टीमाथिको दमन नरोके सरकार जनताको कस्टडीमा उभिनेछ । होइन भने सरकारले पुष्टि गरोस्, हाम्रो पार्टी देशद्रोही हो भनेर ।’

नेता विश्वकर्माले मोहन वैद्य ‘किरण’ले क्रान्तिको नेतृत्व गर्न नसक्ने देखेर आफूहरू अलग भएको समेत स्पष्ट पारे । उनले मुलुकमा यतिबेला चरम संकट उत्पन्न भएको जिकिर गर्दै सो संकटलाई समाधान गर्न वर्तमान राज्य व्यवस्था र नेतृत्व असमर्थ रहेको प्रकाण्डले दाबी गरे ।

नेता विश्वकर्माले कार्यक्रममा सरकारसँगको वार्ताबारे पनि कुनै धारणा व्यक्त गरेनन् । सरकारले अधिकारसम्पन्न राजनीतिक वार्ता समितिमार्फत विप्लव नेतृत्वको पार्टीसँग वार्ताका लागि प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन ।

फरक प्रसंगमा नेता विश्वकर्माले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई पार्टीले कारबाही गर्ने चेतावनी दिए । उनले दोषी को हो भनेर नखुलाए पनि घटनामा संलग्नलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका हुन् ।

सभामा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गरे । तत्कालीन एमालेसँग एकता गरेपछि उनी भने माओवादी केन्द्रमै रहेका थिए । उनले प्रचण्डले माओवादी आन्दोलनको विचार र इतिहासलाई तिलाञ्जली दिएको आरोप लगाएका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालमा ५० वर्षको कम्युनिस्ट आन्दोलनमा ५० औँपटक पुनर्गठन दुःखद् भएको बताए । उनले अहिले पुनर्गठन आवश्यक रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी नाम गरेको पार्टी भ्रष्ट–दलालहरूको एनजिओहरूको समूहले चलाएको गम्भीर आरोप लगाए ।

प्रतिक्रिया