एघार महीनामा ३३ बालिका र ११ महिला बलात्कृत

सप्तरी । सप्तरीमा ११ महीनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा शुक्रबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । जसमा बालिका बलात्कारका ३३ र महिला बलात्कारका ११ तथा बालिका बलात्कार प्रयासका १३ र महिला बलात्कार प्रयासका चार घटना सार्वजनिक भएको छ ।

इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बालिका बलात्कारको ३२ घटनामा दुई र तीन वर्षीया समेत गरी ३३ बालिका पीडित भए । १२ देखि ६५ वर्षीय वृद्धसमेत ४३ आरोपितमध्ये १७ थुनामा र ११ विरुद्ध पक्राउ पूर्जी जारी भयो भने छ फरार छन् । बाल बिज्याइको आरोपमा दुई संरक्षकको जिम्मामा, दुई बालकको कैद सजाय स्थगन भएको छ । तीन जनाले सफाइ पाए, एक जना धरौटीमा रिहा भए भने एक मङ्सिर १ गते पक्राउ परेका छन् ।

महिला बलात्कारको ११ घटनामा १९ वर्षीयादेखि ७० वर्षीयासम्म पीडित बनेको घटना अभिलेख गरिएको छ । आरोपित २४ जनामा १७ वर्षीयदेखि ६५ वर्षीयसम्मका रहेका छन् । जसमध्ये १० थुनामा, सात फरार, छ जनामाथि पक्राउ पूर्जी वारेण्ट जारी भएको छ भने एकजनाले सफाइ पाएका छन् । महिला यौन दुव्र्यवहारका चार घटनामा चार महिला पीडित र पाँच आरोपित देखिएको छ । आरोपितमध्ये दुई जनामाथि पक्राउ पूर्जी, दुई जना धरौटीमा रिहा भए भने एक जनाले सफाइ पाएका छन् ।

बालिका यौन दुव्र्यवहारका १३ घटनामा तीन र छ वर्षका बालिकासमेत पीडित बने । आरोपित १३ वर्षीयदेखि ६५ वर्षीयसम्म १६ जना रहेका छन् । जसमध्ये तीन बालक बालसुधारगृहमा, एक संरक्षकको जिम्मामा र एक बालक थुनामा छन् । एक जनालाई कैद सजाय, पाँच थुनामा, एक जनामाथि पक्राउ पूर्जी जारी, एक जना फरार छन् भने तीन जना धरौटीमा रिहा भएका छन् ।

प्रतिक्रिया