प्रदेश कमिटी निर्माण गर्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विशेष प्रदेश कमिटीको निर्माण गर्ने भएको छ । विशेष जिल्ला कमिटीहरूलाई नेतृत्व दिनका लागि नेकपाले विशेष प्रदेश कमिटीको गठन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले विशेष जिल्ला कमिटीहरू विशेष प्रदेश कमिटी मातहत रहने गरी बनाउने निर्णय गरेको हो । बुद्धिजीवी, मजदुर र विद्यार्थी संगठनलाई हेर्ने गरी विशेष जिल्ला कमिटीहरूको व्यवस्था गरेको थियो ।

‘राजधानीमा विशेष जिल्ला कमिटी बनाउने निर्णय पहिलेकै हो’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अब राजधानीमा विशेष प्रदेश कमिटी गठन हुनेछ र विशेष जिल्ला कमिटीहरू विशेष प्रदेश कमिटी मातहत रहनेछन् ।’

प्रदेश कमिटी एकीकरण गर्ने र पूर्णता दिने सम्बन्धमा बैठकमा छलफल भए पनि कुनै निर्णय भने हुन सकेन । छलफलमा प्रस्तुत भएका सुझावलाई ध्यान दिई मापदण्डका आधारमा आवश्यक पुनर्विचार गरी त्यसलाई टुंगो लगाउने निर्णय गरेको छ । ‘सचिवालयबाट टुंगो लागेको निर्णय स्थायी कमिटीबाट टुंगो लगाउने निर्णय पनि बैठकले गरेको छ’, श्रेष्ठले जानकारी दिए ।

छलफलमा उठेका विषयवस्तुलाई आवश्यक पुनर्विचार गरी निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकमा पोलिटब्युरो गठनका विषयमा पनि छलफल भएको छ । संख्या र नामका बारेमा छलफल शनिबार बस्ने बैठकमा छलफल हुनेछ । यसैगरी, साउनयता बस्न नसकेको स्थायी समितिको मिति तोक्ने विषयमा शनिबारको बैठकमा निर्णय हुने जनाइएको छ ।

प्रतिक्रिया