सुकुम्वासी समस्याको समाधान छिट्टै: अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अव्यवस्थित बसोवास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् ।  भरतपुर महानगरपालिका–२४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रममा उनले सुकुम्वासी समस्या समाधान गर्न नीतिगत छलफल भइरहेको बताए ।

कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले विकास नगरे अरू कसैले पनि गर्न नसक्ने बताउँदै अध्यक्ष दाहालले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार गर्नेछ ।’ यसै वर्षबाट नारायणी र राप्ती नदीको तटबन्ध सुरु हुने उनको भनाइ थियो । अध्यक्ष दाहालले राप्ती र नारायणी नदीको तटबन्धसहितको चक्रपथको विस्तृत अध्ययन प्रतिवेदनको काम यसै वर्षबाट सुरु हुने बताए ।

‘म आफू चितवनको जनप्रतिनिधि भएकाले पनि चितवनको विकासमा मेरो चिन्ता र चासो बढी नै छ । चितवन, अनि समग्र देशको विकास र समृद्धिमा लाग्नुको विकल्प छैन’, अध्यक्ष दाहालको भनाइ थियो । उनले विगत १२÷१५ महिनामै भरतपुर महानगर र सिंगो चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको दाबीसमेत गरे । भरतपुर महानगरपालिकाले अगाडि बढाएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र सिटी हल छिट्टै बन्ने उनले जानकारीसमेत गराए । माडी–ठोरी–केरूङ सडकको काम पनि अगाडि बढ्ने उनले जानकारी गराए ।

प्रतिक्रिया