‘काम गर्ने ढाँचामा परिवर्तन गर्नुहोस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीलाई मितव्ययी भएर चल्न निर्देशन दिएका छन् । आर्थिक वर्ष ०७५७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयन सम्बन्धी प्रथम चौमासिक समिक्षा बैठकको दोस्रो दिन बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यालय समयमा हुने बैठकको भत्ता नलिन कर्मचारीलाई निर्देशन दिएका हुन् ।

‘कार्यालय समयमा गरेको कामको तपाईंले तलब लिनुभएको छ । त्यस कारण भत्ता लिने सोचाइ हटाउनुहोस । मितव्ययी भएर चल्न सिक्नुहोस’, प्रधानमन्त्री ओलीले भने । उनले हरेक दिन मुलुक एक कदम अघि बढ्ने गरी काम गर्न पनि निर्देशन दिए । ‘हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनु पर्दछ । त्यो काम एक कदम अगाडि बढ्ने हुनु पर्दछ,’ उनले अगाडि भने, ‘सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ ।’ मन्त्री र कर्मचारीहरूले काम गर्ने ढाँचामा पनि परिवर्तन गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । नीति, बैठक, छलफल, सुझावमा धेरै समय नबिताई काममा प्राथमिकता दिन प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले नेपाल एयर लाइन्सको वाइवडी जहाज उडानका विषयमा पनि चासो व्यक्त गरेका छन् । त्यसैगरी, नेपाल वायु सेवा निगम घाटामा जानुको कारण, वन मन्त्रालयलाई वृक्षारोपणमा मात्र होइन कृषि वन बढाउन पनि आग्रह गरेका छन् । ‘अनुपत्पादक जातको वृक्षारोपण होइन । उत्पादन दिने खालका फलफूलका विरुवा रोप्न प्रेरित गर्नुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो गरेमा फलजति जनताको बोटजति सरकारको हुन्छ ।’

प्रधानमन्त्री ओलीले कृषि, उद्योग, पर्यटन, सेवाका क्षेत्रलाई आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्नुपर्ने बताए । बिहीबारको समीक्षा बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरू खगराज बराल र कृष्ण विसीले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण पेस गरेका थिए ।

यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले प्रगति विरण पेस गरेका छन् । बाँकी रहेका मन्त्रालयको समीक्षा शनिबार हुने भएको छ ।

प्रतिक्रिया