डडेल्धुरामा बस दुर्घटना, १८ को मृत्यु

डडेल्धुरा । डा. केआई सिंह राजमार्गको रडुवा खोलामा भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहीबार साँझ से १ क २९३ नम्वरको बस दुर्घटनामा दुई दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।

डडेलधुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले १० जनाको शव घटनास्थलबाट निकालिएको जानकारी दिए । उनका अनुसार उपक्षेत्रीय अस्पताल डडेलधुरा पु¥याइए अन्य ६ जनाको मृत्यु भएको हो । केसीले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताए । बस खोलाको खोंचमा खसेको छ । जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार उग्रतारा जात्रा वाट फर्कंदै गरेको बस सडकदेखि ३ सय मिटर तल खसेको हो । पिस जोन एकेडमीको बस डडेलधुराको उग्रतारा मन्दिरमा लाग्ने जात्राबाट फर्कंदा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा उद्दार कार्यमा खटिएमा डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले १६ जनाको मृत्यु भइसकेको बताएका छन । ‘२७ जना घाइतेको उद्दार गरिँदै छ,’ केसीले फोनमा भने । घाइतेलाई डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा लगिएको छ । गम्भीर घाइतेलाई कैलाली ल्याइएको छ । बसमा करिब ३० जनाभन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । दुर्घटनामा डोटीको शिखर नगरपालिका बासिन्दा परेको प्रहरीले जनाएको छ ।

डडेल्धुरामा हरेक मंसिरमा पर्ने पुर्णीमाका दिन जात्रा लाग्ने गर्दछ । सुदूरपश्चिमका ९ जिललाका अतिरिक्त भारत र अन्य प्रदेशबाट पनि दर्शनार्थी उग्रताराको दर्शन गर्न आउने गर्दछन । डोटीबाट सार्वजनिक यातायातका साधनमा बढी भीड हुने भएकाले त्यहाँका स्थानीयले जात्रा हेर्न स्कुलको गाडी लगेको प्रहरीले बताएको छ । बसमा क्षमताभन्दा बढी यात्रु रहेका दुर्घटना भएको प्रहरीले जनाएको छ ।

राति अवेरसम्म मृतकको सनाखत हुन सकेको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै स्थानीयको साथमा अबेर रातिसम्म उद्धार भइरहेको छ । गहिरो खोलामा गाडी पुगेकाले उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

प्रतिक्रिया