छायामा वाल्मीकि आश्रम

पछिल्लो दिनमा वाल्मीकि आश्रम विद्यार्थी तथा अन्वेषकका लागि रुचिपूर्ण पर्यटकीय हब भन्दै गएको छ । भारतको उत्तर प्रदेश र विहार सरकारले विद्यालयका पाठ्यक्रममै अयोध्या, जनकपुर र वाल्मीकि आश्रमको महत्व तथा परिचय उल्लेख गरेका छन् । यी क्षेत्रका कतिपय विद्यालयहरूले शैक्षिक भ्रमणका लागि आफ्ना विद्यार्थीलाई वाल्मीकि आश्रम ल्याउने गरेका छन् । पछिल्ला दिनमा वाल्मीकि आश्रम हेर्ने आउने विद्यार्थी तथा अन्वेषकहरूको संख्या दैनिक एक हजार नाघ्न थालेको छ । यो क्रम बढ्दो छ । भगवान राम र सीताको जीवन गाथालाई संस्कृति भाषामा कवितात्मक रूपमा वाल्मीकि ऋषिले उतारेका थिए । जसलाई वाल्मीकि रामायण भनिन्छ । वाल्मीकि रामायण हिन्दूहरूले बोल्ने प्रायः जसो सबै भाषामा अनुवाद भइसकेको छ । वाल्मीकि रामायण अनुवाद गर्ने कविहरूसमेत सबै भाषाभाषीहरूमा पुज्यनीय मानिन्छन् । उदाहरणका लागि हिन्दी भाषामा अनुवाद गर्ने तुलसीदास र नेपाली भाषामा अनुवाद गर्ने भानुभक्तलाई लिइन्छ । अनुवादकहरू त यति पुज्यनीय छन् भने मूल लेखक वाल्मीकि पुज्यनीय नहुने कुरै भएन । त्यसैले वाल्मीकि आश्रम हिन्दूहरूको पुज्यनीय तीर्थस्थल बन्दै गएको छ । तर, यो यर्थाथता प्रति नेपाल सरकार बेखबर जस्तै देखिन्छ । वाल्मीकि आश्रम नेपालमै पर्छ भन्ने कुरा थोरै नेपालीलाई मात्रै थाह छ ।

चितवन जिल्लाको दक्षिण पश्चिम कुनामा भारतीय सिमानाको नजिकै पर्छ वाल्मीकि आश्रम । तर, वाल्मीकि आश्रम पुग्नका लागि नेपालबाट बाटोसमेत छैन भन्दा पनि हुन्छ । पूर्वी नवलपरासीको त्रिवेणीबाट डुंगामा चढेर नारायणी नदी पार गरेपछि करिब आधाघण्टा चितवन राष्ट्रिय निकुञ्जको जंगल हिँड्नुपर्छ । अनि मात्रै पुगिन्छ वाल्मीकि आश्रम । तर, भारतबाट भने अत्यन्त सहज छ । नेपालसँग सीमा जोडिएका भारतीय सहरमध्ये सबैभन्दा ठूलो र सुविधासम्पन्न सहर हो वाल्मीकि नगर । यो सहरबाट वाल्मीकि आश्रम नजिकै पर्छ । यसैगरी पश्चिम नवलपरासी जिल्लाको भै“सालोटन पुल तरेपछि करिब ७ किलोमिटर भारतीय भू–भाग पार गरेर पनि वाल्मीकि आश्रम पुग्न सकिन्छ । तर, भारतीय सुरक्षाकर्मीहरूले नेपालीहरूलाई धेरै ठाउ“मा चेकजा“च गर्ने र दुःख दिने भएकोले यो बाटोबाट जान पनि सकिने अवस्था छैन । एक हिसाबले भन्नुपर्दा नेपाली भूमिमा रहेको वाल्मीकि आश्रम भारतको कब्जामा जस्तै छ । अर्थात्, यसको उपयोग भारतले नै गर्दै आएको छ ।

हिन्दूहरूका लागि पवित्र भूमि मानिने वाल्मीकि आश्रमको यो दूर्दशाप्रति सरकार तमासे बन्नु ठूलो विडम्बना हो । डेढ महिनाअघि मात्रै गण्डकी प्रदेश सरकारले यस विषयमा ध्यानाकर्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचारसमेत गरेको थियो । गण्डकी प्रदेश सरकारको प्रस्ताव थियो । वाल्मीकि आश्रम हुँदै भारतको वाल्मीकि नगरसम्म पुग्ने पुल तथा सडक हामी आफ्नै बजेट खर्च गरेर बनाउँछौं , संघीय सरकारले स्वीकृति देओस् ।’ तर त्यो पत्रको जवाफ संघीय सरकारले अहिलेसम्म दिएको छैन । वाल्मीकि आश्रम तथा भारतको वाल्मीकि नगरसम्म सडक पुर्याउन चितवन राष्ट्रिय निकुञ्जको करिब दुई किलोमिटर जंगल प्रयोग गर्नुपर्ने हुन्छ तर, संघीय सरकारको स्वीकृतिविना प्रदेश सरकारले राष्ट्रिय निकुञ्जको जंगल भित्र सडक बनाउन सक्दैन । यो सडकको महत्व वाल्मीकि आश्रमसम्मको पहुँचमा मात्रै सिमित छैन, नेपाली सीमासँग जोडिएका मध्ये भारतको सबैभन्दा ठूलो र सुविधा सम्पन्न सहर वाल्मीकि नगरसम्म सडकको पहुँच भएको अवस्थामा नेपाललाई हुने व्यापारिक लाभ निकै ठूलो हुन्छ । संघीय राजधानी काठमाडौं तथा गण्डकी प्रदेश राजधानी पोखरासँग सबैभन्दा छोटो दुरीको व्यापारिक नाका बन्छ त्रिवेणी । नवलपरासीको दुम्कीवास बाट २५ किलोमिटर सडक निर्माण गर्दा वाल्मीकि आश्रम तथा भारतको वाल्मीकि नगर पुग्न सकिन्छ ।

प्रतिक्रिया