आम्दानीको स्रोत चिउरीको बिजुला

सल्यान । विगतमा जंगलमै सडेर जाने चिउरीको बिजुलाले आजभोलि राम्रो मूल्य पाउन थालेपछि यहाँका स्थानीयले अहिले चिउरीका बिजुला संकलन गरी बिक्री गर्न सुरु गरेका छन् । कालीमाटी गाउँपालिकाको काल्चेका स्थानीयले जंगलमा त्यसै खेर गइरहेको चिउरीको बिजुला संकलन गरी बिक्री गर्न थालेका छन् ।

यहाँका स्थानीयले संकलन गरेको बिजुला बासना हर्बल कम्पनीले खरिद गरेर लिन थालेपछि राम्रो आम्दानी हुन थालेको हो । चिउरीको बिजुलाबाट पनि आम्दानी हुन थालेपछि काल्चेका विपन्न परिवारका सदस्यहरू सिजनको वेला चिउरीको बिजुला टिप्न जंगलमा खटिएरै लाग्ने गर्छन् ।

चिउरीको घिउ बिक्री गरेर यस वर्ष ३० हजार रुपैयाँ कमाइगरेको स्थानीय निर्मला विकले बताइन् । उनका अनुसार बिजुला बिक्री गरेर हुने आम्दानीले विपन्न परिवारको करिब तीन महिनाको खर्च टर्ने गरेको छ । ‘पुख्र्यौली पेसा लोप हुँदै गएको छ, त्यसैले युवाहरू मजदुरीका लागि भारत जाने गरेका छन्,’ उनले भनिन, ‘गाउँमा बस्ने बालबालिका र महिलाले बिजुला संकलन गरी बिक्री गरेर तीन महिनाको परिवारको खर्च धान्दै आएका छौँ ।’

चिउरीको बिजुला संकलन गरेर काल्चेका सय बढी परिवारलाई रोजगारीसमेत मिलेको छ । उनीहरूले बिजुलाबाट निकालेको घिउ बिक्री गरेर गाउँमा वार्षिक २५ लाख बढी भित्र्याउने गरेका छन् । कालीमाटी गाउँपालिकाको काल्चेकी विमला नेपालीले गत वर्ष मात्र जंगलमा खेर गइरहेको चिउरीको बिजुला संकलन गरी बिक्री गरेर ४० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । यस वर्ष बिजुला संकलन गरेर आम्दानी दोब्बर बनाउने उनको लक्ष्य रहेको छ  ।

सिजनमा स्थानीयले करिब डेढ महिना बिजुला संकलन गर्ने गरेको उनले बताइन् । ‘दिनभरि फुर्सद हुन्छ, त्यत्तिकै घर बसेर दिन बिताउनुभन्दा चिउरीको बिजुला संकलन गर्न जान्छौँ,’ उनले भनिन, ‘एक जनाले दैनिक चार÷पाँच किलोसम्म बिजुला संकलन गर्न सकिन्छ ।’ काल्चेको अधिकांश जंगल चिउरीको बोटले भरिएको उनको भनाइ छ ।

उनकै छिमेकी दीपा खड्काले पनि चिउरीको बिजुलाबाट ३० हजार रुपैयाँ आम्दानी गरिन् । दीपाका अनुसार अहिले जंगलमा बिजुला संकलन गर्न मानिसको भिड लाग्ने गरेको छ । स्थानीयले संकलन गरेको बिजुला सुर्खेत, दाङ, नेपालगञ्जलगायत बजारमा समेत निर्यात हुने गरेको छ ।

उनीहरू मात्र होइन, काल्चेका अधिकांश स्थानीयले जंगलबाट खेर गइरहेको चिउरीको बिजुला संकलन गरी राम्रो आम्दानी गरिरहेका छन् । स्थानीय बजारमा प्रतिकिलो १ सय ५० रुपैयाँमा चिउरीको बिजुला बिक्री हुन्छ ।

संकलन गरेको बिजुला किन्न व्यापारी घरमै आउने गरेको स्थानीय बताउँछन् । धेरै मिहिनेत गर्न नपर्ने र कोल तथा मिलबाट पेलेर घिउ निकाल्न सकिने भएकाले बिजुला संकलनमा आकर्षण बढेको हो  ।

यहाँको वनजंगलमा चिउरी प्रशस्त मात्रामा पाइने भएकाले यस क्षेत्रमा मौरीपालन गर्दै आएकालाई समेत फाइदा पुगेको छ । चिउरी आयआर्जनको राम्रो माध्यम बनेपछि कालीमाटी गाउँपालिकाका सामुदायिक वनले यसको संरक्षणमा ध्यान दिएका छन् ।

प्रतिक्रिया