खनिजको विकास र बजारीकरणमा जोड

                                                                         फाईल तस्विर

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्धिको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा लाग्नुपर्ने बताएका छन् । नेपाल भौगर्भिक समाजले आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’ को उद्घाटन समारोहमा उनले मुलकका बहुमूल्य खनिजको चाँडो उत्खनन् गरी यसमा योजनाबद्ध विकास प्रयासको खाँचो रहेको बताए । विकास पूर्वाधारका संरचना बनाउँदा भू–बनोटमा पनि ध्यान दिनुपर्ने उल्लिखित गर्दै उनले भने, ‘प्राकृतिक विपद्बाट बच्न आवश्यक तयारीका साथै भूगर्भविद्को ज्ञान र अनुभव आवश्यक छ ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले प्राकृतिक स्रोतसाधनको व्यवस्थापन र सदुपयोगमा लाग्नुपर्ने बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जटिल भौगोलिक विविधताका कारण व्यवस्थित बसोबासमा देखिएका चुनौतीका बारेमा बताउँदै भूकम्पपछिको पुनर्निर्माणमा भएका प्रगतिका बारेमा जानकारी दिए । कार्यक्रममा समाजका अध्यक्ष डा. कविराज पौड्याल, उपाध्यक्ष गणेश त्रिपाठी, सम्मेलनका संयोजक राजेन्द्रप्रसाद खनाललगायतले समाजका गतिविधिका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा भूगर्भ विकास क्षेत्रमा योगदान पु¥याए वापत भूवैज्ञानिकद्वय डा. मेघराज धिमाल र नरेन्द्रबहादुर कायस्थलाई सम्मान गरिएको थियो । यही मंसिर ५ गतेसम्म चल्ने सम्मेलनमा १५ देशका करिब १ सय ५० भूगर्भविद्, भूवैज्ञानिक, खानी विशेषज्ञ, इन्जिनियरलगायत विज्ञको सहभागिता छ । ०३७ सालमा स्थापित समाजले भूविज्ञानसम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरको सम्मेलन, कार्यशाला, गोष्ठी र तालिमलगायत कार्यक्रम गर्र्दै आएको छ ।

प्रतिक्रिया