जलविद्युत्को केन्द्र बन्दै अपि हिमाल गाउँपालिका

नरेन्द्रसिंह कार्की, दार्चुला । सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिका जलविद्युत्को केन्द्र बन्दै गएको छ । चमेलिया नदीको उद्गमस्थलका रूपमा रहेको अपि हिमाल गाउँपालिकालाई जलविद्युत्का माध्यमबाटै चिनाउने गाउँपालिकाको योजना छ । चैतभित्र अपि हिमाल गाउँपालिका–५ मकरीगाडसम्म सडक निर्माण गरिँदै छ । सो क्षेत्रमा सन् २०१९ भित्र मकरीगाड जलविद्युत् आयोजना प्रालिले १० मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सो आयोजनाका उप–कार्यकारी निर्देशक करणबहादुर चन्दका अनुसार सो क्षेत्रका दुई परिवारलाई जग्गाको मुआब्जा वितरण गरिएको छ ।

‘सडक निर्माण हुने वित्तिकै उपकरण ढुवानी गरिनेछ,’ उनले भने । निजी क्षेत्रबाट निर्माण हुन लागेको मकरीगाड जलविद्युत् आयोजना निर्माणका लागि २ अर्ब ५ करोड लागत अनुमान गरिएको छ । यस्तै, मंसिरभित्र अपि हिमाल गाउँपालिका–३ घट्टे खोलामा सय किलोवाट क्षमताको आयोजना निर्माण गरिँदै छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र विभिन्न निकायको सहयोगमा सो आयोजना निर्र्माण गर्न लागिएको हो । आयोजना बनाउन शक्ति इन्जिनियरिङ प्रालिसँग ३ करोड ४२ लाखको सम्झौता गरिएको उपभोक्ता समितिका अध्यक्ष नन्दनसिंह धामीले बताए ।

‘वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २ करोड ८५ लाख सहयोग गर्नेछ,’ उनले भने । गाउँपालिकाले १ करोड ९० लाख उपलब्ध गराउनेछ । ‘४० लाख भुक्तानी गरिसकेका छौँ,’ गाउँपालिकाका अध्यक्ष धर्मानन्दसिंह मन्यालले भने । अहिले खम्बा र तार खरिदको काम भइरहेको छ । यस्तै, अपि हिमाल गाउँपालिका–३ कटेलीगाडमा १० किलोवाट क्षमताको आयोजना निर्माण थालिएको छ । सो आयोजना निर्माण गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १९ लाख, गाउँपालिकाले ५ लाख तथा अन्य रकम प्रदेश सांसद विकास कोषबाट खर्च गरिने विद्युत् उत्पादन समितिका अधयक्ष मदन कार्कीले बताए । सो आयोजना निर्माण गर्न ५७ लाख खर्च हुने अनुमान गरिएको छ ।

यसैगरी, अपि हिमाल गाउँपालिका–६ मज्जेखोलामा सय किलोवाट विजुली निकाल्न बोलपत्र आह्वान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, प्रदेश सरकार तथा स्थानीय तहको सहयोगमा सो आयोजना निर्माण गर्न लागिएको निर्माण समितिका अध्यक्ष धनसिंह धामीले बताए । ‘गाउँपालिकाले १ करोड ७२ लाख सहयोग गर्ने आश्वासन दिएको छ,’ उनले भने ।

चमेलिया नदीबाट ८५ मेगावाट क्षमताको माथिल्लो चमेलिया आयोजना निर्माण गर्न निजी क्षेत्रले चासो देखाएको छ । नेपाल सरकारको लगानीमा ३२ मेगावाट क्षमताको क्षतिगाड जलविद्युत् आयोजना निर्माणबारे अध्ययन भइरहेको छ । निजी क्षेत्रबाटै निर्माण गर्नेगरी ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया र २० मेगावाट क्षमताको तल्लो चमेलिया निर्माणबारे समेत अध्ययन भइरहेको गाउँपालिकाका अध्यक्ष मन्यालले बताए ।

यसअघि ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ । अपि हिमाल गाउँपालिका भएर बग्ने चमेलिया नदीसँगै क्षतिगाड, मकरीगाड, छुमछुम गाड, मज्जेगाडलगायत खोलाबाट विद्युत् उत्पादन गर्न सकिने अत्यधिक सम्भावना छ ।

प्रतिक्रिया