व्यापारिक युद्धमा कसैको जित हुँदैन

अहिले भइरहेको एसिया प्यासिफक सम्मेलनमा बोल्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले संरक्षणवाद अपनाउने राष्ट्र निश्चित रूपमा असफल हुने चेतावनी दिएका छन् । ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीतिको विरोध गर्दै जिनपिङले यस्तो भनेका हुन् ।

विश्वभरका राष्ट्र प्रमुखहरू भेला भएको यस आर्थिक सम्मेलन योपटक भने अमेरिका र चीनबीच जारी व्यापारिक विवादमै केन्द्रित रहेको देखिएको हो जसमा जिनपिङ र अमेरिकी उपराष्ट्रपति माइक पेन्सबीच अप्रत्यक्ष रूपमा भनाभन परेको बताइएको छ । यस विषयमा पेन्सले आफूहरू चिनियाँ सामग्रीमा थप शुल्क वृद्धि गर्न तयार रहेको बताएपछि विवाद झन् चर्किएको हो ।

यो वर्षभर अमेरिका र चीनले एक अर्का विरुद्ध कर वृद्धिको क्रम जारी राख्दै व्यापारिक युद्धलाई अघि बढाइरहेका छन् । पहिले अमेरिकाले सुरु गरेको यस विवादमा ट्रम्पले चीनको अन्यायपूर्ण व्यापार नीतिलाई जिम्मेवार ठहर्याएका छन् ।

यस्तोमा अहिलेसम्म दुवै देशमा अरबौँ डलर बराबरका सामानमा शुल्क वृद्धि भइसकेको छ । तर, अझै विवाद समाधान हुने कुनै लक्षण नदेखिएपछि भने जिनपिङले यसबाट कसैलाई फाइदा नहुने भन्दै चेतावनी दिएका हुन् । सम्मेलनमा उपस्थित सबैका अगाडि यस्तो वक्तव्य दिँदै जिनपिङले भनेका छन्, ‘हामीले यो विगतमा पनि देखिसकेका छौँ कि यस प्रकारका व्यापारिक वा शीतयुद्धको बाटो अपनाएर कोही पनि विजयी हुन सकेको छैन ।’

त्यसैले अमेरिका अहिले जुन बाटोमा हिँडिरहेको छ त्यो दुरदर्शी नभएको र पछि गएर असफल हुनेमा कुनै शंका नरहेको उनले बताएका हुन् । यसरी आफ्नो देशको आर्थिक ढोका बन्द गर्नुले केबल त्यो मुलुकलाई बाँकी दुनियाँबाट टाढा राख्ने र गलत दिशामा लैजाने उनको भनाइ छ ।

तर, जिनपिङ लगत्तै भाषण दिएका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भने चीनको असन्तुलित व्यापार नीतिकै प्रतिक्रियामा आफूहरूले यस्तो तरिका अपनाउनु परेको र हालको नीतिमा कुनै बदलाव ल्याउने सोच नरहेको स्पष्ट पारेका हुन् ।

यसको एक दिन अगाडि मात्र सञ्चारकर्मीहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीचका सबै व्यापारिक समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । व्यापारिक विवाद सुरु भएपछि ट्रम्प र जिनपिङबीच आगामी जी–२० सम्मेलनमा पहिलो भेटवार्ता हुनेछ ।

प्रतिक्रिया