‘एन्टिबायोटिकको प्रभावकारिता घट्नु खतरा’

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एन्टिबायोटिकको प्रभावकारिता घट्दै जानु खतरनाक संकेत भएको बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित प्रतिजैविक प्रतिरोधसम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा बोल्दै मन्त्री यादवले एन्टिबायोटिकको असर खतरनाक भएकाले यसका विषयमा जनचेतना जागाउनु पर्ने बताएका हुन् ।

नेपालमा एीन्टबायोटिकको गलत प्रयोगलाइ न्यूनिकरण गर्ने अभियान स्वरूप हामीले कार्यक्रमहरू शुरू गरिसकोे भन्दै उनले भने, ‘एीन्टबायोटिकले काम गर्न छाड्दै गएमा हामी भविष्यमा ठूलो समस्यामा पर्छौँ । विकसित देशहरूले सजिलै विकल्प खोज्लान्, तर हाम्रो नेपालजस्तो विकासोन्मुख देशले समयमै सजकता अपनाउनुपर्छ ।’

कार्यक्रमबाटै उनले एन्टिबायोटिकको गलत प्रयोगलाई रोक्न सरकार गम्भीर भएर लाग्ने जानकारी दिए । नेपालमा भएका अध्ययनहरूले मानिस र पशुपंक्षीमा जीवाणुहरू बलियो भन्दै गएको र एन्टिबायोटिकले काम गर्न छाड्ने अवस्था आइसकेको बताए । तर, नेपालमा एन्टिबायोटिकको प्रयोग कति र कसरी भइरहेको छ भन्ने यकिन तथ्यांक भने सरकारसँग नभएको बताए ।

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले बिरामीको आवश्यकता बिना नै एन्टिबायोटिक प्रयोग गर्दा गम्भीर समस्या देखिएको बताए । ‘युरोपिएन देशहरूमा पारासिटामोल किन्न चिकित्सकको सिफारिस चाहिन्छ तर हाम्रो देशमा कुनै बिरामी टाउको दुख्यो भनेर उपचारका लागि आयो कि तुरुन्तै एन्टिबायोटिक औषधी दिने चलन छ’ उनले भने ।

सामान्य सिएमए पढेका मानिसले पनि गाउँ–गाउँमा औषधी पसल खोल्दा एन्टिबायोटिकको प्रयोग दर बढेको राज्यमन्त्री डा.यादवको बुझाइ छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा देशभरका विभिन्न २२ वटा अस्पतालका प्रयोगशालाहरूमार्फत कस्तो एन्टिबायोटिक प्रयोग गर्ने भन्ने विषयमा अहिले जनचेतनामूलक कार्यक्रम चलिरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा मानिस, कृषि क्षेत्र र जनावरमा पनि एन्टिबायोटिकको प्रयोग हुने गरेको छ । नेपाल सरकारले एन्टिबायोटिकको गलत असर हुन नदिन कुखुरा तथा वस्तुभाउलाई दिइने खाद्यान्न दानामा एन्टिबायोटिक प्रयोग गर्न निषेध गरेको छ ।

साथै एन्टिबायोटिकलाई चिकित्सकको सिफारिस विना प्रयोग गर्न नपाइने व्यवस्था छ तर नेपालमा एन्टिबायोटिकको गलत प्रयोग हुँदै आएको छ । चिकित्सकको सिफारिस विना जथाभावी रूपमा एन्टिबायोटिक बिक्री र प्रयोग भइरहे पनि सरकारले यसलाई नियन्त्रण र नियमन गर्न सकेको छैन । जसका कारण पनि नेपालमा एन्टिबायोटिक रेसिस्ट्यान्स बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।

सरकारले एन्टिबायोटिकको दुरुपयोग रोक्न र जनचेतना जगाउन राष्ट्रिय कार्ययोजना बनाएर अघि बढ्न लागेको स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सुशीलनाथ प्याकुरेलले बताए । सरकारले एक स्वास्थ्य नीतिअनुसार मानव स्वास्थ्य, पुश तथा वातावरणीय स्वास्थ्यलाई ध्यानमा राखेर एन्टिबायोटिकको समुचित प्रयोगका लागि जनचेतनाका कार्यक्रमहरू गर्ने डा. प्याकुरेलले बताए ।

विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक वर्ष एन्टिबायोटिकको प्रयोगबाट विश्वमा ७ लाख मानिसको मृत्यु हुने गरेको छ । एन्टिबयोटिकको प्रभावकारिता घट्दै गएमा सन् २०५० सम्ममा मृत्यु हुनेको संख्या एक करोड पुग्ने र करिब ६६ अर्ब पाउन्ड आर्थिक क्षति हुने विश्व स्वास्थ्य संगठनले प्रक्ष्यपण गरेको छ । यसको प्रभाव विकसित देशभन्दा अविकसित देशहरूमा पर्ने जनाइएको छ । जथाभावी एन्टिबायोटिकको प्रयोग हुने दक्षिण एसियाली मुलुकहरू एन्टिबायोटिक रेसिस्टेन्सको उच्च जोखिममा रहेको समेत संगठनले बताएको छ ।

प्रतिक्रिया