वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

काठमाडौं । नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र तयार हुने भएको छ ।

नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेस थिएटर) रहनेछन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालको भौतिक पूर्वाधार विस्तारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च प्राथमितामा राखेको छ । अहिले भवनको निर्माण कार्य एवं आवश्यक उपकरण आयात कार्य एकसाथ अगाडि बढेको छ ।

भवनभित्र पोस्ट अपरेटिभ, ४० श्ययाको सर्जिकल, अति सघन कक्ष र पुस्तकालय रहनेछन् । यसैगरी, ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवामैत्री भवन बन्ने न्याम्सले जनाएको छ ।

नेपाल सरकारको ३ अर्ब ८५ करोडको लागतमा सो भवन ०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । विनाशकारी भूकम्पले क्षति पु¥याएको न्याम्सअन्तर्गतको नर्सिङ कलेजको पुरानो भवनको संरचना भत्काई सोही स्थानमा शल्यक्रिया भवन निर्माण गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २५ फागुन ०७४ गतेका दिन सो भवनको शिलान्यास गर्दै निर्धारित समयभित्र भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए ।

१९४७ मा १५ श्ययाबाट सेवा दिन सुरु गरेको वीर अस्पतालको हालको क्षमता ४ सय ५० श्ययाको रहेको छ । न्याम्समा चिकित्सा विज्ञानका नर्सिङ, एमबिबिएस, एमडीलगायत विभिन्न तहमा उच्च शिक्षा पठनपाठन तथा तालिमका कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् ।

न्याम्सका कुलपतिको पद खाली भएको पाँच महिना बितिसकेको छ । अहिले कुलपति नहुँदा दैनिक कार्य सञ्चालनमा समेत अप्ठ्यारो परिरहेको कर्मचारीहरूले बताउने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सुशीलनाथ प्याकुरेलले विभिन्न प्रतिष्ठानमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि मन्त्रीसमक्ष सिफारिस भइसकेकाले छिटै पदपूर्ति हुने बताउँछन् ।

वीर अस्पतालले सो स्थानमा १ हजारदेखि १ हजार ५ सय श्ययासम्मको अस्पताल, नर्सिङ, औषधि पसल, चिकित्सा शिक्षाका लागि कलेज र आवास गृह लगायतका पूर्वाधार तयार गर्दै छ । सरकारी स्तरमा पहिलोपटक हेलिप्याडको सुविधासमेत रहने निर्देशक प्राडा बस्नेतले जानकारी दिए । आगामी पाँच वर्षभित्रमा भौतिक संरचनाकोे काम सम्पन्न गर्नेगरी भवन निर्माण भइरहेको छ ।

केन्द्रीय अस्पतालले दिँदै आएको चिकित्सकीय सेवा विस्तार गर्दै जाने स्वास्थ्य मन्त्रालयको नीतिअनुसार वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट गत असोज २४ गतेदेखि आफ्नो सेवा थालनी गरेको छ । बहिरंग स्वास्थ्य सेवा (ओपिडी) बाट सेवा सुरु गरेको अस्पतालले क्रमशः शल्यक्रिया सेवा दिँदै जाने जनाएको छ ।

अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले सो स्थानमा न्याम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न स्वीकृतसमेत दिएको जानकारी दिए । ओपिडी सेवा बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन भइराखेको उनले जानकारी दिए । थप उपचार गर्नुपरेमा वीर अस्पतालमा अर्को टिकट लिन नपर्ने व्यवस्था अस्पतालले मिलाएको छ ।

स्वास्थ्य मन्त्रालयले न्याम्सलाई सो स्थानमा भौतिक संरचना गर्न करिब ५ सय ७० रोपनी जमिन उपलब्ध गराएको थियो । निर्देशक प्राडा बस्नेतले भने, ‘ओपिडी सेवा प्रदान गर्न आवश्यक मेडिकल अधिकृत, नर्स, अहेबसहित आवश्यक कर्मचारीको व्यवस्था मिलाएका छौँ । आवश्यकताअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा उपकरणको व्यवस्था मिलाउँदै जान्छौँ ।’

पछिल्लो समय स्वास्थ्य मन्त्रालयले वीर अस्पतालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ । सो स्थानमा भौतिक संरचना लगायतका कामको सुरुआत गर्न मन्त्रालयले न्याम्सको गुरुयोजनाअनुसार ३० करोड रुपैयाँ रकम विनियोजनसमेत गरेको छ ।

प्रतिक्रिया