राष्ट्रिय परिचयपत्र आजबाट

पाँचथर । सरकारले आजबाट औपचारिक रूपमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने भएको छ । पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरिने भएको हो ।

नेपालमै पहिलोपटक पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदै छ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको सुरुआत गर्न लागिएको हो ।

भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्य शुभारम्भ गर्ने बताइएको छ । वयोवृद्धा भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्यको थालनी भएको थियो ।

राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन शुभारम्भ कार्यक्रममा प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं– २ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राईलगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

सोमबार नै पाँचथरमा ५० जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । यसका लागि उनीहरूको नामावली जिल्ला प्रशासन कार्यालय पाँचथरमा सार्वजनिक गरिएको छ । विवरण संकलनको समयमा जस्तै राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने व्यक्तिको जैविक विवरण परीक्षण गरेर मात्रै वितरण गर्ने विभागको तयारी छ ।

सोमबारदेखि पाँचथरमा निरन्तर राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढ्ने विभागले जनाएको छ । पाँचथर जिल्लामा नेपालमै पहिलोपटक गत असार ५ गते राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको कार्य भइरहेको छ । हालसम्म पाँचथरका ५२ हजार नेपाली नागरिकको विवरण संकलन भइसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

सरकारले आगामी तीन वर्षभित्र सबै जिल्लाबाट राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको विभागले जनाएको छ । यसै आर्थिक वर्षमा प्रदेश नं– १ का झापा र संखुवासभा, प्रदेश नं– २ का महोत्तरी र सप्तरी, प्रदेश नं ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश नं ५ का कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको थालनी गर्ने कार्यक्रम रहेको विभागका निर्देशक न्यौपानेले जानकारी दिए । ती जिल्लामा कार्यालय स्थापना तथा जनशक्ति व्यवस्थापनको कार्य चाँडै सुरु हुने उनको भनाइ छ ।

प्रतिक्रिया