शल्यक्रिया सेवा अवरुद्ध

सल्यान । सुत्केरी व्यथा लागेर सुत्केरी हुन जिल्ला अस्पताल सल्यान आएकी २३ वर्षीया अमृता बुढाथोकीको पेटमा रहेको बच्चा उल्टो भएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आयो । तर, जिल्लामा शल्यक्रिया गर्ने चिकित्सक नहुँदा उनलाई दाङ रेफर गर्नुपर्यो ।

केही साता अघिसम्म यस कार्यालयबाट सबैले सजिलै पाउँदै आएको सेवा प्रभावित हुँदा यहाँबाट सेवालिने सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । जिल्ला अस्पताल सल्यानमा चिकित्सक नहुँदा शल्याक्रिया सेवा अवरुद्ध भएको हो । अस्पतालमा चिकित्सक अभावका कारण विगत दुई हप्तादेखि शल्यक्रिया सेवा प्रभावित हुँदै आएको होे ।

अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले पठाएका डाक्टर डाक्टर प्रदीप शर्माले शल्यक्रिया सेवा दिँदै आएकोमा १४ कात्तिकदेखि उनको समयावधि सकिएको र नयाँ चिकित्सक पनि नभएकाले सेवा प्रभावित भएको अस्पताल स्रोतले जनाएको छ ।

यस अवधिमा अस्पतालमा सेवा लिन आएका विभिन्न प्रकारका शल्यक्रिया गर्नुपर्ने अवस्थाका २५ जना बिरामीलाई दाङ रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले बताए ।

‘विगत दुई साता यता अस्पतालमा सुत्केरी हुन आएका मध्ये पाँच जना शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलाहरूलाई समेत दाङ रेफर गर्नुप¥यो’, डाक्टर बुढाले भने, ‘अहिले यससम्बन्धी चिकित्सक नहुँदा बिरामीले सास्ती खेप्नुपरेको छ ।’

महिलाहरूलाई शल्यक्रिया गर्नुपरेमा छिमेकी जिल्लाहरूमा रेफर गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख बुढाले बताए । यसअघि जिल्ला अस्पतालबाटै सेवा लिँदै आएका सेवाग्राहीलाई शल्यक्रिया सेवा प्रभावित हुँदा निकै समस्या हुने गरेको उनको भनाइ छ ।

‘पहिले हामीले यसै अस्पतालबाट शल्यक्रिया सेवा दिने गरेका थियौँ तर अहिले चिकित्सकको अभावमा सेवा दिन सकेका छैनौँ,’ उनले भने, ‘यहाँ आएका बिरामीलाई अन्य स्थानमा रेफर गर्नुपर्दा बिरामीले दुःख पाउने गरेको देख्दा दुःखी भएको छु ।’

जिल्लाका विभिन्न ठाउँहरूमा रहेका स्वास्थ्य संस्थाहरूले शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई जिल्ला अस्पतालमा पठाउँछन् । तैपनि जिल्लामा शल्यक्रिया गर्ने चिकित्सक नहँुदा महँगो शुल्क तिरेर जिल्ला बाहिर जान बाध्य भएका छन् ।

‘पहिले जिल्ला अस्पतालमा शल्यक्रिया गर्ने डाक्टर हुँदा बिरामीहरूले सजिलैसँग उपचार सेवा पाउँदै आएका थिए । चिकित्सक नहुँदा समस्या भएको छ, हामीले यहाँका बिरामीलाई दाङमा रिफर गर्दै आएका छौँ’, प्रमुख बुढा मगरले बताए ।

उनले जिल्लामा चिकित्सक आउने क्रममा फेरी पनि डाक्टर प्रदीप शर्मा नै आउने या नआउने विषयमा निश्चित नभएको बताए । साथै उनले अबको महिनादिन भित्रमा नै चिकित्सक आउने र शल्यक्रिया सेवा पुनः सुरु हुने जानकारी पनि दिएका छन् ।

प्रतिक्रिया