अस्पतालमा छैनन् ‘फोहोर पानी प्रशोधन केन्द्र’

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश अस्पताल ‘फोहोर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहोर पानी सिधै ढलमा मिसाउने गरेको तथ्य फेला परेको हो । विभागले वातावरण निरीक्षकको नेतृत्वमा चार समूह गठन गरी उपत्यकाका ३० भन्दा बढी अस्पतालमा वातावरणीय कानुनका आवश्यक मापदण्ड पालना गरे÷नगरेको सम्बन्धमा स्थलगत अनुगमन गरेको थियो ।

वातावरण निरीक्षकको टोलीले अस्पतालमा फोहोर पानी प्रशोधन केन्द्र, संक्रमण फोहोरको व्यवस्थापन, धुलो धुवाँलगायत वातावरणीय कानुनी मापदण्ड पालना गरे नगरेको सम्बन्धमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सुष्मा कोइराला मेमोरियल अस्पतालले मात्र त्यस्ता सबै मापदण्ड पूरा गरेको पाइएको विभागका उपमहानिर्देशक सफला श्रेष्ठले जानकारी दिइन् ।

‘अनुगमन गरिएका अस्पतालमध्ये सुष्मा मेमोरियल र बिएन्डबी अस्पतालले मात्र फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको देखियो’, उनले भनिन् । नरदेवीस्थित आयुर्वेद चिकित्सालयले त अस्पतालबाट निस्कने संक्रमण फोहोर नछुट्याइ सिधैँ नगरपालिकाको फोहोरमा फाल्ने गरेको अनुगमनमा गएका वातावरण निरीक्षकले जानकारी दिएको राससको समाचारमा उल्लेख छ ।

टोलीले अनुगमनका क्रममा मापदण्ड पालना नगर्ने सहिद मेमोरियल अस्पताल, विनायक, बिपी स्मृति, ग्रिन सिटी, नेपाल आँखा अस्पताल, नर्भिक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, मनमोहन मेमोरियल सामुदायिक (ठमेल), काठमाडौं भ्याली, ओम, नोबेल, कान्तिपुर, एभरेस्ट, सशस्त्र प्रहरी बल अस्पताल, किस्ट मेडिकल कलेज, सुमेरु अस्पताल व्यवस्थापन पक्षसँग बयान लिएको उपमहानिर्देशक श्रेष्ठले बताए ।

अनुगमनका क्रममा केही सुधारका लागि मनमोहन मेमोरियल (स्वयम्भू), गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौं मोडेल, वीरेन्द्र सैनिक, नेपाल मेडिकल कलेज (जोरपाटी), अर्थाेपेडिक अस्पताल, मेडिकेयर, हेलिपङ हेन्ड्स लगायतलाई सुधारका लागि सुझाव दिइएको थियो ।
विभागले मापदण्ड पालना नगरी वातावरण प्रदूषण गर्ने अस्पताललाई सुरुमा सुझाव दिई त्यसपछि सुधारका लागि प्रतिबद्धता दिलाउने गरेको छ । त्यसको पालना गरे-नगरेको पुनः अनुगमन गरी सुधार नगर्नेलाई कारबाही गर्न मन्त्रालयलाई सिफारिस गर्ने गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया