म्याद भएको बट्टाभित्र म्याद नाघेको औषधि

भक्तपुर । जिल्लाका अधिकांश औषधि पसल अवैध रूपमा सञ्चालनमा रहेको खुलेको छ । मानव जीवनसँग जोडिएका औषधि पसल अवैध हुनुका साथ साथै म्याद गुज्रिएका औषधिसमेत बिक्री वितरण गरिरहेको भेटिएको छ ।

भक्तपुर नगरपालिका बजार अनुगमन समितिले भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसलहरूको अनुगमन गर्दा अधिकांश पसल दर्ताबिना अवैध रूपमा सञ्चालित भएको पाइएको हो । समितिका संयोजक एवं ३ नम्बर वडाका वडा अध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक, लान्चाफल्चा (भत्केको पाटी) र च्याम्हासिंहमा रहेको औषधि पसल अनुगमन गर्दा पसल दर्ता नै नगरी सञ्चालन गरेको पाइएका छ ।

अनुगमनको क्रममा अनमोल फर्मेसी औषधि बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि टी–फोर ८ सय ५० एमजी र ५ सय एमजीको भेटिएको, सिसी क्यामेराको अनुमतिपत्र नभएको, स्वकृतिविना क्लिनिक सञ्चालन गरेको पाइएको छ ।

अनुगमनको क्रममा पार्वती फर्मेसीमा औषधि बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि भि–मेट ८ सय ५० एमजी र ५ सय एमजीको र एमलोड एक पाकेट, माइलोड दुई पाकेट भेटिएका हो ।

सुवेदी फर्मेसी औषधि बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि बट्टाहरू म्याद भएको औषधि राखी बिक्री गरेको पाइएको छ । त्यस्तै, विश्वास फार्मेसी एन्ड क्लिनिकमा औषधि बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधिहरू कोल्डिन–२ वटा, ओजुस–२ वटा, विदेक्स ६ वटा, प्रिभिडिन ९ वटा भेटिएको छ ।

च्याम्हासिंह मेडिकल हल पसल नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि न्युरोन ५ ट्याबलेट, फल्युइम १५० को ४ ट्याबलेट भेटिएको छ । सबै पसललाई तीन दिनभित्र दर्ता गर्न, स्वकृति लिएर मात्र क्लिनिक पसल सञ्चालन गर्न, अनुमतिपत्र भएको व्यक्तिले मात्र पसल सञ्चालन गर्न निर्देशन दिएको छ भने म्याद नाघेको औषधि र म्याद नाघेको सामान जफत गरेको छ ।

प्रतिक्रिया