पर्यटन बोर्डको टोली खप्तडमा

डोटी । खप्तड क्षेत्रमा बढीभन्दा बढी आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउनको लागि अध्ययन गर्न पर्यटन बोर्डको एक टोली सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ, बाजुरा तथा डोटी जिल्लाको केन्द्रविन्दुमा पर्ने खप्तड पुगेको छ । नेपाल पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महरा, अवधेशकुमार दास र दीपक महतसहित पर्यटन व्यवसायी पनि खप्तड पुगेका हुन् । टोलीमा पर्यटन विकास समितिका महासचिव सञ्जयकुमार चौधरी, होटल व्यवसायी संघ डोटीका अध्यक्ष तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खडका, खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्याय, एनआरएन जर्मनीका अध्यक्ष नवराज रोश्यारा पनि उक्त टोलीमा सहभागी रहेका छन् ।

पर्यटन बोर्डका सदस्य महराले खप्तडमा सय र बिचपानीमा २५ जनालाई बसोवासको व्यवस्थाका लागि संरचना निर्माण हुन्े बताए । चालु वर्ष मात्रै पर्यटन बोर्डबाट ‘प्रि–फ्याप’ भवन बनाउनका लागि पाँच करोड विनियोजन गरिएको उनले जानकारी दिए । खप्तडमा राम्रो खानपिन र बसोवासको बन्दोबस्ती भए प्रतिवर्ष ५० हजार पर्यटक भित्र्याउन सकिने डोटी उद्योग वाणिज्य संघका महासचिव खड्काले बताए । खप्तडमा ‘स्की’ र गल्फको अत्यन्तै सम्भावना रहेकाले बोर्डले उच्च प्राथमिकतामा राखेको बोर्डका सदस्य महतले बताए । खप्तडमा अहिले दिनहुँजसो ४०÷५० जना खप्तड प्रवेश गर्ने गरेको खप्तड पर्यटन बोर्ड डोटीले जनाएको छ ।

प्रतिक्रिया