अलैँचीसम्बन्धी आचार संहिता निर्माणको प्रक्रिया सुरु

ताप्लेजुङ । जिल्लामा अलैंचीसम्बन्धी आचार संहिता निर्माणको पक्रिया सुरु भएको छ । नेपाल अलैँची व्यवसायी महासंघ ताप्लेजुङले आज छलफल गरेको हो ।

उन्नती समावेसी कार्यक्रमको सहयोगमा भएको आचार संहिता निर्माणमा कानुन व्यवसायी यज्ञमान शाक्यले मस्यौदा प्रस्तुत गरेका थिए । मस्यौदा माथि पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशर मेन्याङवो, फुङलिङ नगरपालिकाका उपप्रमुख तारा भट्टराई, फुङलिङ नगरपालिका–८ का वडाध्यक्ष पदम पालुङवा लगायतले सुझाव दिएका थिए ।

कार्यक्रममा आठराई त्रिवेणी, मेरिङदेन, फक्तालुङ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको उपस्थिति रहेको थियो । कार्यक्रममा अलैँची व्यवसायी, किसान र सञ्चारकर्मी खगेन्द्र अधिकारी समेतले सुझाव दिएका थिए ।

आचार संहितामा विषादीको प्रयोग गरे कडा कारबाही गर्नुपर्ने, गुणस्तर सुधारमा सम्झौता गर्न नहुने, अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यान दिनुपर्ने जस्ता विषयमा जोड दिइएको थियो । अध्यक्षहरूले यो सकारात्मक विषय भएको भन्दै कार्यान्वयनमा लान सकिने बताएका छन् र सहमति जनाएका छन् ।

अलैँची व्यवसायी संघका अध्यक्ष वालमणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेनले मूल्यमा आएको गिरावटले किसानलाई निरास बनाएको बताए । उनले अलैंचीको कारोबार बन्द भए ताप्लेजुङ लगायतका पहाडी जिल्लामा भयावह अवस्था आउने भन्दै यसमा सबै पक्षको ध्यान जानुपर्ने बताए । महासंघ अध्यक्ष बरालले ताप्लेजुङको अलैँची कोसेलीको रूपमा कतै पु¥याउन नसकेका कारण प्रचारमा नआएको बताए ।

प्रतिक्रिया