चिकित्सक नहुँदा प्रसूति सेवा ठप्प

संखुवासभा । नेपालको संविधानको भाग–३ धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी व्याख्या गरिएको छ भने उपधारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनि व्याख्या गरिएको छ । तर, जिल्ला अस्पताल खाँदबारीमा भने संविधानको कुरा संविधानको किताबमा मात्रै सीमित भएको नागरिकले गुनासो गरेका छन् ।

सोमबार मकालु गाउँपालिका–३ हेदाङनाबाट प्रसूति गराउन भन्दै सुधा राई जिल्ला अस्पताल खाँदबारी आइन् । उनलाई अस्पतालका कर्मचारीले डाक्टर नभएको भन्दै सामान्य चेकअप पनि नगरी फर्काइदिए । उनले सोचेकी थिइन् जिल्ला अस्पतालमा २४सै घण्टा प्रसूति सेवा पाइन्छ तर उनले सोचेजस्तो भएन ।

राईले भनिन्, ‘जिल्ला अस्पतालमा २४सै घन्टे प्रसूति सेवा पाइन्छ भनेर आएँ तर चिकित्सक नभएकाले अब कता जाने भन्ने समस्या भएको छ ।’ सुधाका पति अशोकले पैसा हुनेले सुविधा सम्पन्न सहर काठमाडौं विराटनगर, धरानजस्ता सहरमा लाने गरेका तर आफूहरू जस्ता विपन्न वर्गका मान्छेलाई दुई छाक खान नै मुस्किल भएकाले उपचार गराउन त धेरै टाढाको कुरा भएको बताए ।

उनले थपे, ‘संविधानमा नै आकस्मिक सेवाबाट कसैलाई वञ्चित गरिने छैन भनेर लेखिएको छ तर हाम्रा लागि सो कुरा ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भएको छ ’।

सोमबार नै चैनपुर नगरपालिका–११ लुहाकोटबाट प्रसूति सेवा लिन आएकी सीता त्रितालले पनि प्रसूति सेवा दिने चिकित्सक नभएकाले समस्या भएको बताइन् । उनले हवाई सेवाबाट जान भनेको वेला टिकट पाउन हाम्रो पहुँचभन्दा टाढाको कुरा भएको र गाडीमा जाने कच्ची सडकमा एम्बुलेन्ससमेत जान नमान्ने गुनासो गरिन् ।

त्यस्तै, खाँदबारी नगरपालिका–४ चिप्ले गाउँबाट प्रसूति सेवा गराउन पत्नी लिएर अस्पताल आइपुगेका आएका भुवन राईलाई समेत जिल्ला अस्पताल खाँदबारीले चिकित्सक नभएकाले प्रसूति सेवा दिन नसक्ने बताएपछि अलमलमा परेको बताए । राईले चिकित्सक नभएकाले सुविधा सम्पन्न सहरमा लैजान भने पनि उपचार गर्ने रकम नभएकाले लान नसकेको दुःखेसो गरे ।

उनी मात्र होइन, प्रसूति गराउन आउने जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला भोजपुरको उत्तर–पूर्वी भेगका बिरामी पनि अस्पताल आएर फर्कने गरेका पाइएको छ ।

निक साइमन नामक संस्थाले सुरक्षित मातृत्व गराउन जिल्ला अस्पताल खाँदबारीमा राखेका दुई जनामध्ये एकजना चिकित्सकको समय अवधि सकिएको र एकजना बिदामा बसेपछि प्रसूति सेवा ठप्प भएको छ ।

निक साइमन संस्थाले राखेका चिकित्सक डा. युवराज बस्नेतले दसैँअघि नै समय अवधि सकिएको भन्दै खाँदबारी अस्पताल छाडिसकेका छन् । प्रसूति सेवा गराउने चिकित्सक व्यवस्थापन नगर्दा जिल्ला अस्पताल खाँदबारीमा पटकपटक प्रसूति सेवा अवरुद्ध हुने गरेको छ ।

जिल्ला अस्पतालमा चिकित्सक नभएपछि २४सै घण्टा दिइने प्रसूति सेवा एक साताबाट ठप्प भएको हो । संस्थाले सुरक्षित मातृत्व गराउन राखेको अर्का चिकित्सक डा. शैलिका श्रेष्ठसमेत घर बिदामा बसेकी छन् । चिकित्सक नभएपछि प्रसूति सेवा गराउन आउने सेवाग्राही मारमा परेका छन् ।

चिकित्सक व्यवस्थापनमा बेवास्ता

जिल्ला अस्पताल प्रमुख लक्ष्मण खड्काका अनुसार डा.शैलिकालाई बिदा स्वीकृत गरिएको छैन । शैलिकाले घरायसी समस्याका कारण जनाउँदै बिदा लिए पनि खड्काले स्वीकृत गरेका छैनन् । तर, साताअघिदेखि सेवा प्रभावित भएकामा अस्पतालले चिकित्सक व्यवस्थापनका लागि चासो देखाएको छैन ।

खड्काले उनीहरूको समयावधि सकिएकाले सम्बन्धित निकायमा चिकित्सक व्यवस्थापनका लागि अनुरोध गरिएको तर हालसम्म समस्या समाधान नभएको बताए । यता, अस्पताल समितिका अध्यक्ष सुमन शाक्यले प्रसूति सेवा गराउने चिकित्सक चाँडै व्यवस्थापन गर्ने बताए । जिल्ला अस्पतालमा १२ जना बढी चिकित्सकको दरबन्दी भए पनि केन्द्रबाट चिकित्सक नआएकाले समस्या हुने गरेको शाक्यले स्वीकार गरे ।

प्रसूति सेवाको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा समितिको बैठक राखेर चाँडै समस्या हल गर्ने अध्यक्ष शाक्यले बताए । तर, जिल्ला अस्पतालमा यी र यस्ता समस्या पटकपटक देखापर्ने गरेको छ ।

केही समयअघि तीन महिनादेखि अस्पतालमा नाभी मलम सकिए पनि अस्पताल प्रमुख खड्कालाई जानकारी नभएको बताएका थिए । सुत्केरी भत्ता, कर्मचारी व्यवस्थापन, कर्मचारीबीच विवाद लगायतका कारण जिल्ला अस्पतालमाथि प्रश्न उठ्दै आएको छ तर अस्पताल विकास समिति र अस्पताल प्रशासनले यस्ता समस्या चाँडै समाधान हुने भन्दै आलटाल गर्ने गरेका छन् ।

प्रतिक्रिया