तिंकर सडकको निर्माण अलपत्र

दार्चुला । ०६५-०६६ देखि निर्माण सुरु भएको दार्चुला–तिंकर सडकको निर्माण कार्य १० वर्ष हुँदा केबल ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । तिंकरसम्मको १३३ किलोमिटर दुरी रहेकोमा केबल २६ किलोमिटरमा मात्र गाडी गुड्ने गरेको छ ।

सो सडकका लागि छुट्याइएको वार्षिक बजेटमध्ये केवल ३०-३५ प्रतिशत मात्र काम हुने र वाकी रकम फ्रिज हुने गरेको सडक आयोजनाले जनाएको छ । जसका कारण निर्माणमा ढिलाई हुने गरेको छ ।

संघिय सरकारको मातहतमा सो सडक निर्माण आयोजना रहेको हुनाले स्थानिय तहले कुनै प्रकारको काम कार्वाहि गर्न नसक्दा समस्या श्रृजना भएको दुहुँ गाउँपालीका प्रमुख पुलेन्द्र वाहादुर कार्कीले बताए । आयोजनासँग सडक निर्माणको ढिलाइका विषयमा बुझ्दा भौगलिक कठिनाई र विस्फोटक पदार्थ अभाव देखाएको उनको भनाइ छ ।

पछिल्लो समय गृह मन्त्रालयले सडकका लागि १० टन विष्फोटक पदार्थ दिएपछि निर्माण अघि बढ्ने अपेक्षा उनको छ । लास्कुखोला, निजाङखोला, राताकाठा भिर, कलागाड खोलाको भिर, विजयपुरको भिर ठेक्का भएको तीन वर्ष वित्दा समेत सोचे जस्तो काम हुन सकेको छैन । छिटो छरितो काम नभए स्थानिय तहका जनप्रतिनिधि नै दार्चुला तिंकर सडक आयोजनामा ताला वन्दि गर्ने चेतावनी समेत दिएका छन् ।

काम गर्न नसकेको ठेकदारमाथि कार्वाहिलागि सिफारिस भएपनि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयवाट उल्टै म्याद थप भई आएको छ । वर्खायाममा सो सडक खण्ड अन्तर्गत दुहुँ गाउँपालीकाले निजि स्काभेटर प्रयोग गरेर यातायात सञ्चालन गर्दै आएको छ । गत वर्ष स्तरोउन्नतीका लागी ६ किलोमिटरमा ठेक्का भएको र हाल सम्म ५ प्रतिशत मात्रै काम भएको देखिएको छ ।

प्रतिक्रिया