विद्यार्थीको देउसीभैलोबाट जुटेको रकम शिक्षकलाई तलब

गलेश्वर । देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला यहाँको एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन् ।

रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेस्थित रितुङ माविका विद्यार्थीले देउसीभैलो खेलेर रु ६ लाख ५० जुटाएका छन् । सो रकम विद्यार्थीले विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

आधारभूतदेखि माविस्तरसम्मका शिक्षकको तलब जुटाउन हम्मेहम्मे परेपछि विद्यार्थीले स्थानीयवासीको घरदैलोमै पुगेर देउसीभैलोमार्फत उक्त रकम जुटाएका शिक्षक यामप्रसाद विश्वकर्माले बताए।

‘मावि तहमा दरबन्दी नहुँदा शिक्षकलाई समुदायले तलब खुवाउनुपर्छ,’ उनले भने, ‘निजी स्रोतका शिक्षकको तलबभत्तामा वार्षिक रु १० लाख खर्च हुन्छ ।’ विद्यालयको आर्थिक अवस्था निकै कमजोर छ ।

लामो समयदेखि शिक्षकलाई तलब खुवाउन नसकिरहेको अवस्थामा विद्यार्थीले देउसीभैलो खेलेर रकम जुटाएपछि सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले बताए।

मावि तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक नीजि स्रोतका छन् । आधारभूत तहमा समेत समस्या छ ।

प्रतिक्रिया