विकृतिले स्थान नपाओस्

दसैं र तिहारपछि सबैभन्दा धेरै नेपालीहरूले मनाउने पर्व छठ हो । तीन दिन अघिदेखि सुरु भएको यो पर्व मंगलबार अस्ताउ“दो सूर्य र बुधबार उदाउ“दो सूर्यलाई अघ्र्य दिएपछि समापन हुँदैछ । छठको व्रत अन्य व्रतभन्दा निकै कडा छ । यसमा व्रतालु ३६ घण्टा निराहार बस्ने गर्छन् । नेपालीहरूले मनाउने कुनै पनि व्रतमा यति धेरै निराहार बस्नुपर्ने छैन । केही वर्ष अघिसम्म तराई–मधेसमा पनि छठ पर्व आम वा सबैको साझा पर्व बनेको थिएन । केहीले परम्परादेखि मनाउ“दै आएकाले र केहीले छालासम्बन्धी रोगले सताउँदा सूर्यदेवलाई ‘छठको व्रत बस्छु’ भन्ने भाकल गरेकाले यो व्रत बस्ने गर्थे । तर, अहिले तराई–मधेसमा सबैले मनाउने पर्व त बनेको त छ नै पहाडमा पनि व्रत बस्ने चलन बढ्दै गएको छ । काठमाडौं उपत्यकामा हेर्दा पनि यसको प्रमाण देखिन्छ ।

मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । सूर्यलाई आदि देवता पनि भनिन्छ । मानव मात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रातीको अन्धकारबाट भयभित भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरु मानेका थिए ।

पछिल्ला वर्षहरूमा यस्तो पवित्र धार्मिक पर्व छठमा पनि प्रसस्त विकृति भित्रिएका छन् । घाटहरूको सजावटमा लाखौँ खर्च गर्न थालिएको छ । छठघाटको एक-डेढ सय मिटर परदेखि नै राखिने पण्डाल, झिलीमिली बत्तीलगायत सजावटका सामानमा लाखौ“ खर्च हुने गरेको हो । पर्व मनाउनेको संख्या बढेस“गै छठघाटको संख्यामा वृद्धि भएको छ । यससँगै पछिल्लो समय सजावटमा समेत देखासिकी बढ्दै गएको छ । कोभन्दा को कमको लयमा मुठ्ठी फुकाएर खर्च गर्ने होडबाजी चल्ने गरेको छ । यति मात्र होइन तराई–मधेसमा यो पर्व गहना वा आभूषण प्रदर्शन गर्ने होडसमेत चलेको । जस्तोसुकै गरिब परिवार भए पनि नया“ लुगा लगाउनै पर्ने चलन चल्न थालेको छ । यसले आडम्बरपन बढाएको चिन्ता पनि व्यक्त हुन थालेको छ । त्यसैले छठको मौलिकता लोप हुन नदिन विकृतिविरुद्ध सचेतना पनि आवश्यक भइसकेको छ । चाड पर्वहरू जति सहज र कम खर्चिला हुन्छन् त्यति नै त्यसको मौलिकता कायम रहने र सर्वव्यापी हुने गर्छ ।

प्रतिक्रिया