कोशकार नेपाल सम्मानित

काठमाडौं । अभिनव साहित्य समाजले यस वर्षको ज्योतिष हरिप्रसाद घिमिरे अभिनव पुरस्कारबाट कोशकार वसन्तकुमार शर्मा नेपाललाई सम्मानित गरेको छ । समाजले जोरपाटीमा आयोजना गरेको कार्यक्रममा लामो समयदेखि नेपाली साहित्य सेवामा समर्पित कोशकार नेपाललाई २२ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । अक्षयकोषमा ३ लाख राखी समाजका अध्यक्ष एवं ज्योतिष घिमिरेका सुपुत्र गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले पुरस्कार स्थापना गरेका हुन् ।

कोशकार नेपालले नेपाली शब्दसागरलगायत दर्जनौँ पुस्तकको लेखन एवं सम्पादन गरेका छन् । राजधानीको उत्तरपूर्वी क्षेत्रमा ख्यातिप्राप्त ज्योतिषका रूपमा स्थापित भएका स्व. हरिप्रसादको जन्मजयन्तीका अवसरमा प्रत्येक वर्ष यो पुरस्कार वितरण गरिँदै आएको छ । पुरस्कार हस्तान्तरण गर्दै प्रा. गोपीकृष्ण शर्माले कोशकार नेपालको योगदानको सम्मान भएको बताए ।

समाजले २५ फागुन ०५८ सालदेखि प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा साहित्यिक शृंखलाको आयोजना गर्दै आएको छ । शृंखलाको २०१औँ संस्करण शनिबार १ सय १०औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती र ९६औँ ज्योतिष हरिप्रसाद घिमिरे जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरेको थियोे ।

कार्यक्रममा प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, प्राज्ञ विष्णु प्रभात, गोविन्द नेपाल, रुद्र अधिकारी, दिव्यलक्ष्मी पोखरेल, मेनका पोखरेल, सुशील आचार्य, राजदास श्रेष्ठ, शैलेन्द्र श्रेष्ठ, सुनिता पौडेल, समाजका उपाध्यक्ष कोमल लामिछानेलगायत ४२ जना कवि एवं कवयित्रीले आफ्ना रचना पाठ गरेका थिए । यसअघि यो पुरस्कार प्रा. जगमान गुरुङ, प्रा. विष्णुराज आत्रेयलगायत साहित्यकारलाई प्रदान गरिएको समाजले जनाएको छ ।

प्रतिक्रिया