दुँहुमा झोलुंगे पुल बन्ने

दार्चुला । जिल्लाको दुँहु गाउँपालिकामा थल सिलिङचौरा वहुउद्देश्यीय झोलुंगे पुल निर्माण हुने भएको छ ।

गाउँपालिकाको कालागाड खोलामाथि निर्माण हुने बहुउद्देश्यीय झोलुंगे पुलको लम्बाइ ३७० मिटर लामो र १९० मिटर अग्लो रहनेछ । उक्त पुलले गाउँपालिकाको वडा नम्बर ५ र २ लाई जोड्ने जनाइएको छ ।

जगदम्बा दोभान संगम जेभीसँग दुँहु गाउँपालिकाले दसैँअगावै निर्माणका लागि सम्झौता गरिसकेको भए पनि काम भने केही दिनमै सुरु हुने गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताए ।

दोभान निर्माण सेवाका प्रतिनिधि वसन्त बुढाथोकी र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरसिंह महराले हस्ताक्षर गरेका छन् । पुल निर्माणको लागि १ करोड ७६ लाख ९९ हजार रुपैयाँ लाग्ने जनाएको छ । गत आर्थिक वर्षमा टेन्डर भएको झोलुंगे पुल निर्माणको कार्य छिट्टै सुरु गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको गाउँपालिकाका प्रमुख कार्कीले बताए ।

पुल निर्माणपश्चात् साहसिक खेल बन्जिजम्पको लागिसमेत उपयुक्त सम्भावना रहेको हेल्भेटास नेपालका प्रमुख इन्जिनियर ज्ञानेन्द्रराज भण्डारीले भनाइ छ । पुल निर्माण सम्पन्न पछि सो क्षेत्रका करबि४ हजार स्थानीय लाभान्वित हुनेछन् ।

पुल निर्माण हुने स्थानमा निकै कडा खालको चट्टान रहेको तथा गहिरो गल्छी भएका कारण बन्जीजम्पको लागि उपयुक्त मानिने अध्यक्ष कार्कीको भनाइ छ । अबको एक वर्षभित्रै झोलुंगे पुल निर्माणको काम सकिने र बन्जीजम्पका लागिसमेत अध्ययन हुने उनको भनाइ छ । यस आर्थिक वर्षमा प्रदेश पर्यटन मन्त्रालयवाट बन्जीजम्प अध्ययनका लागि १९ लाख बराबरीको रकमसमेत विनियोजिन भइसकेको छ ।

प्रतिक्रिया