काठमाडौं । दुर्घटना, फलाम या खिया लागेको सामानले चोट पु¥याउँदा तथा जनावरले टोकेमा टिटानस ब्याक्टेरिया मार्न २४ घण्टाभित्रै लगाउनुपर्ने टिटानस विरुद्धको भ्याक्सिन हाल देशभरी नै अभाव भएको छ ।
करिब ६ महिना बित्दा पनि भ्याक्सिनको सहज आपूर्ति हुन सकेको छैन । भारतको आन्तरिक समस्याका कारण यसको आयात हुन नसकेको औषधि व्यवस्था विभागले जनाएको छ ।
टिटानस रोग विरुद्धको भ्याक्सिन (टिटी खोप)को वैकल्पिक व्यवस्था नहुँदा सयौैँ बिरामी प्रभावित हुन पुगेका छन । सरकारी तवरबाट अन्य धेरै खोपको निःशुल्क व्यवस्था भए पनि टिटीको भने भ्याक्सिन आपूर्तिको व्यवस्था छैन ।
अहिले नेपालमा मागको १० प्रतिशत पनि भ्याक्सिन आयात हुन सकेको छैन । औषधि व्यवस्था विभागसँग खपतको यकिन तथ्यांक नरहेपछि निजी वितरकका अनुसार मासिक करीब दुई लाख ४० हजार एम्पुल भ्याक्सिन खपत हुने अनुमान छ । राजधानीका अधिकांश फार्मेसी र अस्पतालमा खोप नभएको महिनौँ भइसकेको छ । देशका अन्य जिल्लामा समेत समस्या कायमै छ ।
औषधि व्यवस्था विभागका अनुसार करिब ६ महिनादेखि नै टिटी खोपको अभाव छ । भारतबाट नेपालमा भ्याक्सिन निर्यात गर्ने कम्पनी र भारत सरकारसँगको मूल्य निर्धारणमा भएको समस्याले नेपालमा भ्याक्सिन अभाव भएको हो ।
‘अभाव भएको छ महीना भयो, हामीलाई खबर आएको भने एक महिना भयो, त्यसपछि हामीले अहिले छिटो आयात गर्न पहल गरिरहेका छौँ ।’ विभागका सूचना अधिकारी सन्तोष केसीले भने,‘विभागले बजारमा औषधि र औषधिजन्य पदार्थको नियमन गर्ने काम गर्दछ ।
उहाँका अनुसार केही अत्यावश्यक भनिएका ठाउँमा आएको भ्याक्सिन पठाउने गरिएको छ ।’ बजारमा भ्याक्सिन अभाव भएको ६ महिना हुँदासमेत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी भने बजारमा भ्याक्सिन अभाव भएको भन्नेबारेमा जानकारी नभएको प्रतिक्रिया दिए ।
भारतको सेरम इन्स्टिच्युट र बायोलोजिकल इन्भान्स कम्पनीले नेपालमा टिटी भ्याक्सिनको आपूर्ति गर्दै आएको छ । इन्भान्स कम्पनीबाट आयात गरेर मेडी सेल्सले र सेरमबाट आयात गरेर श्रीओम ब्रदर्शले नेपालमा भ्याक्सिन वितरण गर्दै आएको छ ।
मेडी सेल्सका प्रोप्राइटर श्रीबिन्दु राजभण्डारी भारतको कम्पनी पुनर्निर्माणमा रहेकाले भ्याक्सिन आपूर्ति गर्न नसकेको भन्दै मागको १० प्रतिशत पनि आपूर्ति हुन नसकेको बताउँछन् । केही आपूर्ति हुन थालेकाले अब भने वितरण सहज हुने आशा वितरकको छ ।
‘हामीले ५०० प्याकेट (प्रतिप्याकेट दुई हजार ४०० एम्पुल) मगाउँछौँ, कम्पनीले जम्मा ५० प्याकेट पठाउँछ, अनि कसरी नेपालमा भ्याक्सिन सहज हुने’, राजभण्डारीले भने । यता सेरम इन्स्टिच्युटको नेपालस्थित आधिकारिक बिक्रेता श्रीओम ब्रदर्सका व्यवस्थापक सुवास अधिकारी भारत सरकारले मूल्य निर्धारण गरेपछि उक्त मूल्यमा घाटा लाग्ने भएकाले सेरमले उत्पादन नै नगरेको जानकारी आएको बताउँछन् ।
भारतको आन्तरिक समस्याले गर्दा अहिले शून्य दशमलव पाँच एमएलको भ्याक्सिन भने आएको छैन । अन्य ५०० एमएलको भने आइरहेको अधिकारी बताउँछन् । उनले यसको विकल्पका रुपमा टिडी (टिटानस डिप्थेरिया) भ्याक्सिन विकल्पका रुपमा प्रयोग गर्न सकिने बताए ।
नेपाल सरकार स्वास्थ्य सेवा विभागले अहिले गर्भवती आमा र बच्चाका लागि भनेर टिडी भ्याक्सिन दिन थालेको करीब चार वर्ष भयो । त्यसयता सरकारी तवरमा टिटी खोपको आपूर्ति भएको छैन । आमा र बच्चा दुवैका लागि भनेर टिडी वितरण भइरहेको विभागको आपूर्ति व्यवस्थापन शाखा अन्तर्गतको फार्मेसी अधिकृत बडेबाबु थापा बताए । यो धनुष्टंकार र भ्यागुते रोगविरुद्धको भ्याक्सिन हो ।
थापाका अनुसार सरकारी तवरबाट अहिले टिटी भ्याक्सिनको आपूर्ति बन्द छ । शाखाले अहिले बिसिजी, डिपिटी, ओपिभी, दादुरा, रुवेला विरुद्धको भ्याक्सिन, टिडी, जेइ, पिसिभी, आइपिभी खोप आपूर्ति गर्दै आएको छ ।
तर अत्यावश्यक मानिने टिटानस विरुद्धको भ्याक्सिन भने निजी कम्पनीको भरपर्नुपर्ने बाध्यता छ । सो विषयमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लोहनी आमा सुरक्षा कार्यक्रमअन्तर्गत टिटीको कुनै कार्यक्रम नभएकाले सरकारी तवरबाट वितरण नभएको बताउँछन् । यसको सट्टामा टिटी भ्याक्सिन सरकारले उपलब्ध गराएको उनको भनाइ छ ।
प्रतिक्रिया