आलु पार्टी’ मा दुई तिहाईको हुर्मत

ललितपुर । हरेक वर्ष काग तिहारको अवसर पारेर हास्ने प्रतिष्ठानले आलु पार्टीको आयोजना गर्दै आएको छ । उक्त कार्यक्रममा स्रष्टाले कविता, मुक्तक, गीत, नृत्य लगायतका विधामार्फत हास्यव्यंग्य प्रस्तुत गरे ।

प्रतिष्ठानले जावलाखेलस्थित हासनेघरमा आयोजना गरेको ‘आलु पार्टी’ मा जितु नेपाल, केरा अर्याल, घनश्याम गौतम, डम्बर घिमिरे, कल्याण राना, पिँडालु पौडेल, बमबहादुर जिताली लगायतले आप्mना हास्यव्यंग्य सिर्जना प्रस्तुत गरे ।

प्रतिष्ठानका अध्यक्ष रामकुमार पाँडेले चार दशक पहिलेदेखि काग तिहारका दिन कार्यक्रमको आयोजना हुँदै आएको जानकारी दिए । उनले हास्य क्षेत्रमा कार्यरतले काग तिहारलाई सम्पूर्ण हास्य दिवसका रूपमा मनाउँदै आएको बताए । बर्सेनि यो दिन हास्य कलाकार, चित्रकार, लेखकलगायत एक ठाउँमा जम्मा हुने गरेका छन् । चार दशकमा करिब डेढ सय कलाकारले आ–आफ्नो प्रस्तुति दिएको उनले जनाए ।

कलाकार जितु नेपालले विदेशमा बस्ने धेरै नेपालीले नेपाली कलाकार नचिनेको गुनासो गरे । उनले भने, ‘आमाबाबा हामीसँग फोटो खिच्न आउँदा बालबालिका को हो भनेर सोध्छन् ।’

उनले दुई तिहाइको सरकार नेपाली जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ हुन नहुने जिकिर गरे । चलचित्र ‘छक्का पञ्जा–३’ का दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे लगायतलाई प्रतिष्ठानले आलुको माला लगाइदिएर सम्मान गरेको थियो ।

कार्यक्रमपछि आलुको परिकार सेवन गरिएको थियो । पाँडेले भने, ‘सबै परिकारमा प्रयोग हुने आलु सस्तो र सबै खानेकुरामा मिल्छ भने हास्यव्यग्ंयमा पनि सांकेतिक रूपमा यसको प्रयोग हुन्छ ।’

प्रतिक्रिया