मस्तिष्क मृत्यु भएकाको मिर्गौला सफल प्रत्यारोपण

 भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका एक व्यक्तिको मिर्गाैला दुई बिरामीलाई सफल प्रत्यारोपण गरिएको छ ।

मस्तिष्क मृत्यु भएका सर्लाहीका ७२ वर्षीय टेकबहादुर योञ्जनको दानबाट प्राप्त दुईवटा मिर्गाैला वीर अस्पताल र यस केन्द्रमा उपचारत दुई जना बिरामीमा सफल प्रत्यारोपण गरिएको केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । पोखरा घर भई वीर अस्पतालमा मिर्गाैलाको उपचार गराइरहेका ५६ वर्षीय एक पुरुषलाई र स्याङ्जा घर भई पोखरा मणिपाल टिचिङ अस्पताल हुँदै भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहेका ३० वर्षीय अर्का पुरुषलाई सफल प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ ।

मिर्गाैला प्रत्यारोपण गरिएका दुवै बिरामीले डेढ वर्षदेखि मस्तिष्क मृत्यु भएका व्यक्ति दानबाट पाइने मिर्गाैला आफ्नो शरीरमा प्रत्यारोपण गर्न पर्खाइमा बसेको बताउँदै यो वर्ष भने आफूहरू नयाँ जीवन पाइएको बताए ।

केन्द्रका प्रमुख डा. श्रेष्ठले मस्तिष्क मृत्यु भएकाहरूले गरेको मिर्गाैला दानबाट प्रत्यारोपण गर्न ५ सय जना मिर्गाैलाका बिरामी फाराम भरेर प्रतिक्षामा रहेको बताए । उनले भने, ‘नेपालमा हरेक वर्ष एक हजार जनाको मृत्यु मस्तिष्क मृत्युका कारण हुने गरेको छ, ती बिरामीबाट नेपालको कानुनअनुसार आठ वटा अंग दान लिन मिल्छ, त्यस्ता बिरामीले गर्ने अंगदानबाट आठ हजार बिरामीको ज्यान बचाउन सकिन्छ ।’

उनका अनुसार मस्तिष्क मृत्यु भएका एक बिरामीबाट दुई मिर्गाैला, फोक्सो, मुटु, कलेजो, सानोआन्द्रा, आमाशयलगायत अंग दान लिन मिल्छ । यसले एक वर्षमा हजारौँको ज्यान बचाउन सकिन्छ । यसअघि ०७४ साल वैशाख २८ गते दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका २४ वर्षीय गोविन्द भुजेलको मिर्गाैला दानबाट नेपालमै पहिलोपटक मस्तिष्क मृत्यु भएकाको अंगदानबाट दुई बिरामीलाई सफल मिर्गाैला प्रत्यारोपण गरिएको थियो भने अहिले दोस्रोपटक सफल मिर्गाैला प्रत्यारोपण गरिएको छ ।

गत कात्तिक १२ गते राती ललितपुरको गणेशमान सिंह मेमोरियल अस्पताल एन्ड रिसर्च सेन्टरमा टेकबहादुर योञ्जनको मस्तिष्कघातका कारण मस्तिष्क मृत्यु भएको न्युरोलोजिस्ट डा. प्रवीण श्रेष्ठ र एनेस्थेसियोलोजिस्ट चिकित्सक डा. आरती राई र डा. निरज हिराचनले जानकारी गराए ।

अस्पतालका चिकित्सक डा. हिराचनले बिरामीका परिवारलाई मस्तिष्क मृत्यु भएको व्यक्ति आपूm मरेर गए तापनि अरू व्यक्तिलाई बचाउन सक्ने कुरा बुझाएर परिवारले अंगदान गर्न मञ्जुरी दिएपछि त्यही रात प्रतीक्षामा रहेका दुई बिरामीलाई मिर्गाैला प्रत्यारोपण गरिएको थियो । गणेशमान सिंह मेमोरियल अस्पताल एन्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी निर्देशक मिलन गुरुङ, शव परीक्षण विज्ञ डा. हरिहर अवस्थी, केन्द्रका शाखा अधिकृत हरिहर पोख्रेल, ट्रान्सप्लान्ट कोर्डिनेटर सनिषा कार्की र अधिवक्ता सुशील श्रेष्ठद्वारा कानुनी प्रक्रिया पूरा गरी अंग झिकिएको थियो ।

केन्द्रका चिकित्सक डा. कल्पना श्रेष्ठ, प्राडा राकेशकुमार बर्मा, डा. मोहन देवभण्डारी, डा. विजय कटुवाल, डा. दीपेश श्रेष्ठ, डा. निभा श्रेष्ठ, डा. रेखा श्रेष्ठ, डा. किरणजंग कुँवर, डा. शोभित थापा, नर्सिंग निर्देशक दुर्गा श्रेष्ठ, डा. मेघा जोशी, डा. अमृत केसी, डा. लक्ष्मीप्रसाद त्वयाना, ओटी इन्चार्ज सिजन गुरुङ लगायतका प्राविधिकसहितको टोलीले सोही रात मिर्गाैला प्रत्यारोपण गरेको जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा अंगदाता योञ्जनका कान्छो छोरा निर्मल भन्ने मकर योञ्जनले आफ्नो बुबाको दुई मिर्गाैला दान गरेर अरू दुई जनाको ज्यान बचाउन पाउँदा यो परिवार खुसी भएको बताए ।

उनले भने, ‘विदेशमा सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले अंग दान गर्छन् तर हाम्रो देशमा अझै पनि अंग दान गर्न हिच्किचाउने प्रचलन छ, अंग दान गर्नुपर्छ भन्ने सन्देश दिनका लागि हाम्रो परिवारले सहजै अंग दान गर्न स्वीकारेका हौँ, अरूलाई पनि अंगदान गर्न म आग्रह गर्छु ।’ कार्यक्रममा अंगदाता योञ्जनका परिवारलाई सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको थियो । यो वर्ष केन्द्रलाई २० जनाको मस्तिष्क मृत्यु भएको जानकारी आए पनि १८ जना परिवारले अंग दान गर्न नमानेको जानकारी गराइएको छ ।

प्रतिक्रिया