सम्झनामा पद्मरत्न

अग्रज वामपन्थी नेता पद्मरत्न तुलाधरको गत आइतबार दिउ“सो दुई बजे निधन भएको छ । उनी ७८ वर्षका थिए । अचानक मस्तिष्कमा पक्षघात भएपछि तुलाधरलाई यही ६ कात्तिकमा अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । तुलाधरको निधन मुलुकको राजनीति तथा सामाजिक क्षेत्रका लागि ठूलो क्षति हो । मुलुकमा लोकतान्त्रिक अभ्यासको आरम्भ भएको करिब ८० वर्ष पुगेको छ । यो अवधिमा मुलुकमा धेरै राजनीतिकर्मीहरूले आफ्नो छाप छाडेका छन् । त्यसमध्ये तुलाधर एक हुन् । तर, उनले छाडेको छाप अरू राजनीतिकर्मीहरूको भन्दा पृथक तथा मौलिक छ । केही राजनीतिक कर्मीहरूले पार्टी स्थापना गरी अँफूलाई अमर सावित गराए । केही राजनीतिक कर्मीहरू कुनै पार्टीमार्फत युग सुहाउ“दो विचार तथा संगठन निर्माण गरी अमर भए । तर, तुलाधर कुनै पनि पार्टीमा प्रत्यक्ष संलग्न भएनन् । उनले संगठन निर्माण तथा युग सुहँउ“दो विचार पस्केको पनि देखि“दैन । तर, जनअधिकार प्राप्तिका लागि भएका संघर्षमा तुलाधरले सधै निर्णायक भूमिका निर्वाह गरे । कुनै पार्टीमा प्रत्यक्ष संलग्न नभएरै पनि अग्रगामी परिवर्तनका लागि निर्णायक भूमिका निर्वाह गर्ने अग्रणी नेता हुन् तुलाधर । वास्तवमा नेपालमा जननेताको उपाधि पाउने हैसियत राख्ने एक मात्रै नेता तुलाधर हुन् भन्दा फरक नपर्ला ।

१९९७ सालमा काठमाडौंको रैथाने नेवार परिवारमा जन्मेका तुलाधर प्रौढ अवस्थामा पुगेपछि मात्रै नेपालको राष्ट्रिय राजनीतिमा देखा परेका हुन् । ०४३ सालमा सम्पन्न राष्ट्रिय पञ्चायतको निर्वाचनमा तुलाधर जनपक्षीय उम्मेदवारका रूपमा काठमाडौं जिल्लामा देखापरे । चुनाव प्रचार–प्रसारका क्रममा उनले पञ्चायती व्यवस्थाको खिलापमा गरेको भाषणले देशव्यापी चर्चा पायो । त्यतिवेला पञ्चायत व्यवस्थाका विरुद्ध अभिव्यक्ति दिन सक्ने गुञ्जायस थिएन । राजनीतिकदलहरू प्रतिबन्धित थिए । यस्तो कठोर अवस्थामा नेता तुलाधरले गरेको भाषणको रेकर्ड देशका कुना–काप्चासम्म पुग्यो । तुलाधरको यो भाषणले पञ्चायती व्यवस्थाविरुद्ध ठूलै माहोल सिर्जना गर्यो । काठमाडौंका जनताले तुलाधरलाई भोट ओइर्याए । राष्ट्रिय पञ्चायत भित्रैबाट उनले प्रजातन्त्रका पक्षमा अभिव्यक्ति दिए । खासगरी, त्यतिवेला व्यवस्थाको प्रतिपक्षको भूमिका तुलाधरले निर्वाह गरेका थिए । एक किसिमले जनताले उनलाई प्रतिपक्षी नेताका रूपमा हेरेका थिए । प्रतिबन्धित राजनीतिक दलका नेताहरूलाई जनताले खासै चिनेका पनि थिएनन् । औ“सीको अन्धाकार रातमा हि“ड्ने बटुवाका लागि एउटा अगुल्टोले जति महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ त्यतिवेला प्रजातन्त्र पक्षधर जनताका लागि तुलाधरले त्यस्तै भूमिका निर्वाह गरेका थिए ।

०४६ सालको परिवर्तन गणेशमान सिंहको नेतृत्वमा भएको थियो भने ०६२-६३ को परिर्वतन गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको थियो । राजनीतिलाई सरसरर्ती हेर्ने हो भने यही कुरा बुझिन्छ । तर यी दुवै आन्दोलनका अन्तरवस्तु तथा पृष्ठभूमिलाई गहिरोसँग नियाल्ने हो भने तुलाधरको योगदान ज्यादै महत्वपूर्ण देखिन्छ । यदि तुलाधरको भूमिका नहुँदो हो त ०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्ध जनआन्दोलन नहुन पनि सक्थ्यो । भए पनि सफल नहुन सक्थ्यो । नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू कार्यगत एकता भएकै कारण ०४६ सालमा जनआन्दोलन भएको हो र उक्त आन्दोलनले पञ्चायत ढालेको हो । नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूबीच कार्यगत एकता गराउन तुलाधरको निर्णायक भूमिका थियो । कम्युनिस्टहरू पनि जनआन्दोलनमा सहभागी हुनेछन् भन्ने विश्वास गणेशमान सिंहलाई दिलाएको तुलाधरले नै हो । यसैगरी, जनआन्दोलन ०६२-६३ को पृष्ठभूमि भनेको संसद्वादी तथा माओवादीबीच भएको १२ बुँदे सम्झौता हो । संसद्वादी दलहरूले गणतन्त्र स्वीकार गर्ने र माओवादीले संसदीय लोकतन्त्र स्वीकार गर्ने सहमति पछि १२ बु“दे सम्झौता सम्भव भएको हो । संसद्वादी दलहरूले गणतन्त्र स्वीकार गर्ने र माओवादीले संसदीय लोकतन्त्र स्वीकार गर्ने वातावरण निर्माण गर्न तुलाधरको अग्रणी भूमिका छ । यसैगरी, तुलाधर राजनीतिक व्यक्तित्व मात्रै नभएर कुशल पत्रकार, कुशल मानवअधिकारवादी र इमान्दार राष्ट्रवादीसमेत हुन् । उनले ०५३ सालमा पार्टीको ह्विप तोडेरै महाकाली सन्धीको विपक्षमा मतदान गरेका थिए । उनी कतिसम्म दूरद्रष्टा रहेछन् ? भन्ने कुरा कालन्तरमा पुष्टि भयो । साथै, नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने विषयमा राजनीतिक दलका नेताहरूलाई सद्बुद्धि दिएको पनि तुलाधरले नै हो । यसका लागि उनले ठूलो मिहेनत गरेका छन् । मुलुकका अहिले कायम भएको धर्मनिरपेक्षता तथा समानुपातिक समावेशी लोकतन्त्रका प्रर्वतक पनि तुलाधर नै हुन् भन्दा अत्युक्ति नहोला ।

प्रतिक्रिया