काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले अहिलेसम्म आयुर्वेद रिर्सच सेन्टरको उपयोग हुन नसकेको भन्दै अब राम्रो कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
मुलुककै केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवी अस्पताल तथा वैकल्पिक चिकित्सा विभागले शतवार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा सोमबार गरेको कार्यक्रममा विभाग सुतेको जस्तो भएको टिप्पणी गरे ।
उनले देश संघीय सरकारमा गएकाले अब बजेटको समस्या नहुने भन्दै उनले बजेट दिने तर, त्यसको लागि लोकप्रिय कार्यक्रम ल्याउन आग्रह गरे । राज्यमन्त्री यादवले आयुर्वेदिक उपचार प्रणालीलाई आगामी दिनमा स्तरीय तरिकाले अगाडि बढाउनुपर्ने धारणा राखे ।
सरकारले आयुर्वेदलाई ७ प्रदेशमा प्रादेशिक स्तरको आयुर्वेदिक अस्पताल परीक्षणको रूपमा अगाडि बढाउने योजना तयार गरेको बताए । नसर्ने रोग बढिरहेका वेला आयुर्वेद, प्राकृतिक चिकित्सालय र योगले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले अनुसन्धान र खोज गर्दै अगाडि बढ्ने कार्ययोजना बनाइएको बताए ।
नेपाल जडिबुटी भएको देश भएर पनि आयुर्वेदको अनुसन्धान र विकासमा केही गर्न नसकेकोमा बाहिरी मुलुकले समेत चिन्ता व्यतm गर्ने गरेको यादवले स्मरण गरे । आयुर्वेद विकासका १० वर्षे योजनासहित लगानीको वातावरण बनाई जटिबुटीको उत्पादन, संकलन र व्यवस्थापन गर्न आयुर्वेद विभागबाट प्रस्ताव ल्याउन निर्देशन दिए ।
आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेदलाई धुलो खाने औषधि भनेर हेयका दृष्टिले हेरिएको गुनासो गरे । उनले आयुर्वेद भनेको मनुष्य जीवनको सम्पूर्ण स्वास्थ्य भएको बताए । विभागले धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसको अवसरमा पाँच र दश मिनेटको योग अभ्यास प्याकेजसमेत ल्याएको छ । उक्त कार्यक्रमको अवसरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।
प्रतिक्रिया