रगतमा राजनीति

नेपाल रेडक्रस सोसाइटीले रगतको मूल्यमा १७ प्रतिशत मूल्यवृद्धि गरेको छ । कात्तिक १५ गतेदेखि लागू हुने गरी रेडक्रसले प्रतिप्रिन्ट रगतमा एक सय रुपैयाँ बढाएको छ । एक सूचना निकाली सोसाइटीले विगतमा ४ सय ९५ रुपैयाँ पर्ने एक प्रिन्ट रगतमा १ सय रुपैयाँ बढाएर ५ सय ९५ रुपैयाँ बनाएको जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारद्वारा जारी सूचनामा रक्त संकलनमा रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थाका लागि ब्लडको मूल्य बढाउनुपरेको उल्लेख गरिएको छ । रेडक्रसले घाटा देखाउँदै रगतको मूल्य बढाएको हो । रेडक्रसले ६८ जिल्लाका १ सय १ स्थानबाट रक्तसञ्चार सेवा गरिरहेको छ । यस्तै, ९० हजार स्वयंसेवक र साढे १० लाख बढी सदस्य बनाएर काम गरिरहेको छ ।

दुईवटा विश्व युद्धपछि जस्तोसुकै अवस्थामा मानवीय सेवाप्रवाह आवश्यक भएको महसुस गरी संयुक्त राष्ट्रसंघले जेनेभा महासन्धि (युद्धका नियम)मार्फत अन्तर्राष्ट्रिय रेडक्रसको स्थापना गरियो । यो कुनै पनि पक्षमा नलागी अर्थात् (द्वन्द किन भयो ? यसको समाधान के हो ? कसको के कमजोरीले यस्तो भयो ? कस्तो हुनु पथ्र्यो ?) भन्ने कुरामा ध्यानै नदिई केवल द्वन्द्व वा युद्धमा पीडित भएकाहरूको सेवामा लाग्ने संस्था हो । नेपालमा पनि माओवादी र राज्यबीचको सशस्त्र द्वन्द्व (जसलाई आन्तरिक सशस्त्र द्वन्द्व पनि भनिन्छ) मा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) क्रियाशील थियो । यो आइसिआरसी अझै पनि नेपालमा विपन्न द्वन्द्वपीडितको जीविकोपार्जनको क्षेत्रमा क्रियाशील छ । आइसिआरसी अन्तर्राष्ट्रियस्तरको सेवामुखी संस्था भयो । यस्तै खालको सेवाका लागि धेरैजसो राष्ट्रहरूमा पनि राष्ट्रियस्तरको रेडक्रस स्थापना भएसँगै नेपालमा पनि ‘नेपाल रेडक्रस सोसाइटी’ नामक संस्थाको स्थापना भएको हो । ‘सबै ठाउँमा, सबैका लागि’ नाराका साथ ०२० साल भाद्र १९ गते तत्कालीन स्वास्थ्मन्त्री डा. नागेश्वरप्रसाद सिंहको अध्यक्षतामा तदर्थ समितिले नेपालमा रेडक्रसको स्थापना गरेको थियो ।

नेपालमा भने यो संस्थामा चरम राजनीति घुसेको छ । केही जिल्लामा नेकपा समर्थितहरूले जिल्ला समिति कब्जा गरेका भए पनि अधिकांश जिल्ला कार्यसमिति नेपाली कांग्रेस समर्थितहरूको कब्जामा रहेको छ । नेपालमा रेडक्रस कांग्रेस समर्थित एनजिओको रूपमा चिनिएको छ । मानवीय सेवार्थ खटिने रेडक्रसका स्वयंसेवक एनजिओका कर्मचारीजस्ता भएका छन् । ‘रक्तदान, जीवनदान’ भन्ने नाराले सर्वसाधारणलाई रक्तदान गर्न प्रोत्साहित गर्नु राम्रो काम भए पनि व्यक्तिहरूसँग सित्तैमा लिएको रगतमा आन्तरिक घाटा पूर्ति गर्न भन्दै मूल्य बढाउनु रेडक्रसको अमानवीयताको पराकाष्ठा हो । झन् कांग्रेस सभापतिको सहमतिमा मूल्य बढाएको भन्ने कुराले नेपालको रेडक्रसको प्रतिष्ठा धुलिसात हुने निश्चित छ । रगतमा मूल्य बढाएर सर्वसाधारणको पहुँचभन्दा माथि पुर्याउनु ज्यान मार्नुसरहको अपराध हो । झन् कुनै पनि दलको इसारामा मानव जीवनसँग खेलवाड गरेर सत्ताको सौदावाजी गरिएको हो भने योभन्दा अमानवीयता र क्रूरता अर्को हुन सक्दैन । सुनिएको छ, रेडक्रसले चौथो दिन नबित्दै यस्तो निर्णय फिर्ता पनि लिइसकेको छ । तर, यतिले मात्र रेडक्रसलाई यो निर्णयको हल्लाले पु¥याएको क्षतिपूर्ति हुनेछैन । भनिन्छ ‘चरित्रमा लागेको दाग, व्यवहारले मात्र पखाल्छ ।’ त्यसैगरी नेपाल रेडक्रसलाई लागेको यो दाग उसको आगामी दिनका व्यवहारको कसीमा जाँचिनेछ ।

प्रतिक्रिया