चितवन । मधुमेह रोगका कारण मानव शरीरमा विभिन्न रोगहरू लाग्ने गरेकोले सचेत हुनुपर्नेमा चिकित्सकहरूले जोड दिएका छन् ।
विश्व मधुमेह दिवसको अवसर पारेर चितवनको भरतपुरमा आयोजना गरिएको लायन्स स्वास्थ्य दर्पण अवार्ड कार्यक्रममा चिकित्सकहरूले खानपानमा ध्यान दिने हो भने मधुमेहसहित धेरै रोगहरूबाट जोगिन सकिने बताए ।
प्राध्यापक डाक्टर बुद्धिबहादुर थापाले मधुमेहसँग धेरै खालका रोगहरूको सम्बन्ध हुने भएकाले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित भएको बताए । मधुमेह नसर्ने रोग भए पनि यो वंशाणुगत रोग हुने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नु र समयमा खाना खानु राम्रो भएको प्राध्यापक डाक्टर श्यामराज रेग्मीले बताए ।
पछिल्लो सयम मधुमेहका कारण युवावस्थाका व्यक्तिलाई समेत हृदयघात हुने गरेको रेग्मीले बताए । मधुमेहका कारण मुख्य गरि मानिसको मिर्गाैलामा सिधै असर पर्ने भएकाले सचेत हुनेपर्नेमा मृगौला रोग विशेषज्ञ डाक्टर अरुण सेढाईँले जोड दिए । मानिसको खानपिनका कारण पछिल्लो समय जुन सुकै व्यक्तिलाई पनि मधुमेह हुन सक्दे देखिएकोले नियमित स्वास्थ्य परीक्षण गर्नका लागि सेढाईँले आग्रह गरे ।
नेपालको सम्पूर्ण जनसंख्याको आठ प्रतिशत भन्दा बढी व्यक्तिमा मधुमेह भएको र मधुमेह लागेका व्यक्ति मध्ये २५ प्रतिशत व्यक्तिमा मृगौला रोग हुनसक्ने सेढाईँको भनाइ छ । ‘नेपालमा भएका सम्पूर्ण मृगौला रोगीहरूमध्ये लगभग ६ लाख ४० हजार जना मृगौला रोगीहरू मधुमेहकै कारणले रोगी भएका छन्’ सेढाईँले भने, ‘समग्रमा कुरा गर्दा नेपालमा १० देखि १४ प्रतिशत व्यक्तिहरू मृगौला रोगी छन् भन्ने कुरा बाहिर आएको छ ।’ लगभग ४३ लाख नेपालीमा मिर्गाैला रोग भएको उल्लेख गर्दै ६ लाख व्यक्तिमा मधुमेहकै कारण मिर्गाैला रोग लागेको सेढाईँको भनाइ छ ।
कार्यक्रममा चिकित्सकहरूले मधुमेहका कारण मानिसलाई धेरै रोग लाग्ने गरेको उल्लेख गर्दै कम्तिमा पनि वर्षमा एक पटक रगत र पिसाब चेक गराउनुपर्नेमा जोड दिएका थिए । पत्रकारिता मार्फत समाजमा स्वास्थ्य सन्देश फैलाएको भन्दै सो कार्यक्रममा चितवन तथा अन्य जिल्लाका पाँच जना पत्रकार नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, अग्रज पत्रकार ईश्वर जोशी, दिपेन्द्र श्रेष्ठ, अतुल मिश्र र दिपक दाहाललाई जनही पाँच हजार पाँच सय रूपैयाँका दरले सम्मान गरिएको हो ।
त्यस्तै लायन्सवाद मार्फत समाज परिवर्तनमा योगदान पुर्याएको भन्दै लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटु का पूर्व डिष्ट्रिक्ट गभर्नर डाक्टर रामअवतार प्रसाद खेतान र डिके ढुंगानालाई समेत सम्मान गरिएको थियो ।
चितवनमा रहेका लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ नारायणी, लायन्स क्लब अफ नारायणगढ, लायन्स क्लब अफ चितवन सेन्ट्रल र स्वास्थ्य दर्पण मिडिया नेटवर्कको आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले सरकारले स्वास्थ्यसम्बन्धी राम्रो नीति तथा कार्यक्रम ल्याएर गरिब जनताको निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताए ।
लायन्स क्लब अफ नारायणगढ नारायणीकी अध्यक्ष अनुषा चुकेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार किशोर नेपाल, लायन्स क्लब ईन्टरनेशनल ३२५ बीटुका पूर्व डिष्ट्रिक्ट गभर्नर घनश्याम भट्टराई, सम्मानीत व्यक्ति पत्रकार दिपेन्द्र श्रेष्ठ, डिके ढुंगाना लगायतका व्यक्तिले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया